दाङमा पछिल्लो समय बलात्कारका घटना ह्वात्तै बढ्दै गएको पाइएको छ।
चैत महिनामा मात्रै आधा दर्जन बढी बलात्कारका घटनाहरू भएका छन् भने भालुवाङमा बलात्कारपछि एकजना महिलाको हत्या भएको छ। जंगलमा एकजना महिलाको सामूहिक बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको र उक्त घटनामा सम्लग्नता रहेको आशंकामा यातायात क्षेत्रमा कार्यरत केही व्यक्तिहरू पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।
दाङमा चैतको १५ गतेसम्म आधा दर्जन जति बलात्कारका घटनाहरू प्रहरीमा दर्ता भएका छन्। यो बीचमा नाबालकदेखि अपाङ्गता भएका किशोरीहरूमाथि यौन अत्याचारका घटना भएको जाहेरी प्रहरीमा परेको छ। नाबालिकाहरू प्राय जसो आफन्त तथा चिनेजानेका व्यक्तिहरू बाटै बढी जसो पीडित भएको र अशक्त तथा किशोरीहरू चिनजान नभएका व्यक्तिहरूको ‘ग्याङ रेप’मा पर्ने गरेको पाइएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले सेतोपाटीलाई बताइन्।
चैतको १५ गतेसम्मको रेकर्ड हेर्दा तुलसीपुर क्षेत्रमा तीन वटा र घोराही क्षेत्रमा तीनवटा जति बलात्कारजन्य घटनाहरू भएको एसपी सिंहले बताइन्। त्यसमध्ये कतिपय आरोपितलाई पक्राउ गरेर म्याद थप गरी मुद्दा चलाइसकेको भएपनि एकाध केही फरार रहेको हुँदा उनीहरूलाई पक्राउ गर्न बाँकी रहेको उनले बताइन्।
एसपी सिंहले चैतको पहिलो सातातिर घोराही क्षेत्रमा सुस्त मनस्थिति भएकी एकजना किशोरी र एकजना अपाङ्गता भएकी बालिकामाथि समेत यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास भएको भन्ने जाहेरी आएको जानकारी दिइन्। सुस्त मनस्थिति भएकी बालिका र अपांगता भएकी बालिकाको उमेर जम्मा १४ र १५ वर्षको मात्रै रहेको उनले जानकारी दिइन्।
‘फोन, इमेल इन्टरनेटको सहज पहुँच र प्रयोग तथा दुरुपयोग तथा केही लालच देखाउँदै अपराधीहरूले बलात्कार गर्ने गरेको भन्ने जाहेरीमा छ,’– एसपी सिंहले भनिन्, ‘यसमा समाज र आफन्त बढी सजग हुन जरुरी छ।’
तर, उनले नाबालिकाहरू भने आफन्त तथा चिनजानकै व्यक्तिहरूबाट बढीजसो यौन दूराचारका घटना भएको भन्ने उजुरी प्रहरीकोमा आएको जानकारी दिइन्। उनले भालुवाङकी एकजना कामदार महिलालाई प्रलोभनमा पारेर नजिकैको जंगलमा लगेर सामूहिक बलात्कारपछि हत्या गरेको आशंका भइरहेको र उक्त घटना अर्घाखाँची क्षेत्रमा भएको हुँदा अर्घाखाँची प्रहरीले हेरिरहेको एसपी सिंहले बताइन्।
यसैबीच एसपी सिंहले बलात्कार मुद्दामा पक्राउ परेका केही व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले घोराहीले सोमबार दिउँसोसम्म सार्वजनिक गर्ने जानकारी दिइन्।
यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाकाले पनि तुलसीपुुर क्षेत्रमा चैतको पहिलो हप्ता दिन भित्रै तीनवटा यौन दुराचार र बलात्कार सम्वन्धी जाहेरी परेको जानकारी दिएका छन्। उनका अनुसार पुस २४ देखि चैत १५ गतेसम्म ४ महिनाको अवधिमा तुलसीपुर क्षेत्रमा चारवटा बलात्कारका घटना प्रहरी समक्ष आएका छन्।
यसबीचमा ३ वर्षीया बालिका पनि बलात्कारको शिकार भएको उनले जानकारी दिए। चैत ११ गते रातको साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गोलौरा निवासी रामजन चौधरी लगायतको समूहले स्थानीय १५ वर्षीया किशोरीलाई जबरजस्ती सामूहिक बलात्कार गरेको जाहेरीका आधारमा दोषीलाई पक्राउ गरी कानूनी कारवाही थालिएको उनले बताए।
उक्त बलात्कारमा सम्लग्नमध्ये केहीको खोजी जारी रहेको जानकारी सापकोटाले दिएका छन्। बलात्कारमा सम्लग्न चारदेखि पाँचजना १३ देखि १५ वर्ष उमेर समूहका रहेको प्रमुख सापकोटाले बताएका छन्।
त्यस्तै शान्तिनगर गाउँपालिका वडा नम्बर १ निवासी ५६ वर्षीय अन्तबहादुर टमटाले तीन वर्षीया बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरी आवश्यक कारवाही थालिएको प्रहरीले जानकारी दिएको छ । टमटाले अवोध बालिकालाई चैत १२ गते बिहान ११ बजेतिर जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।