दाङमा यात्रुमाथि हुँदै आएको जोर जबरजस्ती तथा तानातान र हानाहानको अवस्था अन्त्य गर्नका लागि पहल थालेको यातायात व्यवसायीले जानकारी दिएका छन्।
त्यसैको प्रयासस्वरुप आइतबार बिहानदेखि स्थानीय रुटहरूमा एउटै डायलबाट सबै समितिका गाडी सञ्चालन गरिएको छ। राप्ती अञ्चल सार्वजनिक यातायात समितिका कल्याणकारी सचिव प्रकाश भट्टका अनुसार आइतबार बिहानदेखि तुलसीपुर–घोराही रुटमा हरेक ५/५ मिनेटमा एउटै डायलबाट सबै समितिका गाडी छुटाउन सुरू भएको बताए।
‘अब आजदेखि गाडीका स्टापहरूले कुनै पनि यात्रुलाई यसमा चढ र उसमा नचढ भन्ने छैनन्। यात्रुहरूले आजदेखि स्वच्छिक र स्वतन्त्र रूपमा यात्रा गर्न पाउनेछन्’, राप्ती समितिका भट्टले भने।
उनले राप्ती यातायात समिति, अम्विकेश्वरी समिति, ट्याक्सी समिति, कालिका मालिका प्रालि र चन्द्र सूर्य यातायात समितिका गाडी एउटै डायलमा आइतबारदेखि सञ्चालन गरिएको बताए। यात्रुको गुनासोको आधारमा कसैलाई पनि जोर जवरजस्ती नहोस् र यात्रुले आफूखुसी यात्रा गर्न पाओस् भन्ने हेतुका साथ हरेक ५/५ मिनेटमा छुट्ने गरेको उनले बताए।
‘हालसम्म धेरै समितिका गाडी एउटै समयमा जाँदा व्यापक प्रतिस्पर्धा थियो, यात्रुहरूका लागि हानाहान र तानातान हुन्थ्यो र अबदेखि त्यो प्रतिस्पर्धा अन्त्य हुनेछ,’ राप्ती समितिका अध्यक्ष सुरेश हमालले भने।
उनले यातायात क्षेत्रको निरन्तर सुधार गर्दै यात्रुमैत्री वातावरण बनाउन आफूहरू सदैव तत्पर रहेको जानकारी दिए।
‘आजदेखि पहिलेको जस्तो भद्रगोल अवस्थाको अन्त्य हुनेछ अब हामी मिलेर एउटै सिस्टममा रहेर एउटै डायलमा गाडी सञ्चालन गरी त्यो तानातानको अवस्था अन्त्य गरेका छौं,’ अध्यक्ष हमालले भने। उनले निकट भविश्यमै जिल्लामा रहेका सबै समितिहरूसँग देशभर एउटै डायलमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
सेतोपाटीले केही दिनपहिले मात्रै दाङमा यात्रुमाथि भइरहेको तानातान र हानाहानको समाचार भिडियोसहित प्रकाशित गरेको थियो। त्यसलगत्तै, स्थानीय प्रशासनले यात्रुलाई आफ्नो गाडीमा लैजान जबरजस्ती गर्नेहरूलाई कारवाही थालेको थियो। यात्रुलाई आफ्नो गाडीमा लैजान करकाप गर्ने, तानातान गर्ने गाडीका एकदर्जन बढी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि यातायात व्यवसायीहरू यात्रुमाथिको ज्यादति रोक्न बाध्य भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
उनले यात्रुमाथि जोरजबरजस्ती गर्नेहरूमाथि कारवाही अझै पनि यथावत रहेको बताए। केही प्रहरी सादा पोशाकमा खटाएर निगरानी सुरू गरिएको र यात्रुहरूलाई जोरजबरजस्ती गर्नेहरू एक दर्जन जतिलाई पक्राउ गरिएको उनले जानकारी दिए ।