अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको ५९ वटा ‘स्टिङ अप्रेसन’मा ९१ जना सरकारी कर्मचारी पक्राउ परेका छन्।
‘स्टिङ अप्रेसन’ बाहेक आयोगले १ सय ५० जना सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
त्यसमा २ जना सहसचिव, ३ जना उपसचिव, २७ जना नायव सुब्वा, १० जना प्राविधिक, ८ जना शाखा अधिकृत लगायतका सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।
गत साउन यता ९९ वटा मुद्दा विशेष अदालतमा दायर गरी १० अर्ब ४६ करोड बराबरको बिगो माग दाबी भएको छ।
प्रवक्ता मैनालीका अनुसार गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले आठ महिनामा चार जना विरुद्ध मुद्दा दर्ता गराएको छ।
उनीहरूसँग ११ करोड ९८ लाख विगो माग दाबी समेत गरिएको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव देवीप्रसाद बाराकोटी, ठूला करदाता कार्यालयका प्रमुख अधिकृत टीकाराम भूषाल र नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता मैनालीले सेतोपाटीलाई बताए।
त्यसैगरी, पक्राउ परेका अन्य कर्मचारीले सेवाग्राहीबाट घूस खाएको अवस्थामा समातिएका थिए। समातिएकामध्ये कतिपयका मुद्दा दायर भइसकेको र कतिपयको मुद्दा दायर हुने अवस्थामा रहेको प्रवक्ता मैनालीले बताए।
चालू आर्थिक वर्षमा अख्तियारको फन्दामा ११ जना प्रहरी र ३ जना सशस्त्र प्रहरी परेका छन्।
आयोगको तथ्याक अनुसार गएको साउन यता नेपाल प्रहरीका ११ जना अख्तियारको कारवाहीमा परेका छन्। जसमा १ जना डिएसपी, एक जना प्रहरी निरीक्षक, एक जना सई, २ जना असई, २ जना प्रहरी हवल्दार र ४ जना जवान रहेका छन्। त्यसैगरी, सशस्त्र प्रहरीका जवान पनि अख्तियारको फन्दामा परेको आयोगले जनाएको छ।