स्थानीय प्रशासनले यात्रुहरूमाथि जोर जबरजस्ती गर्नेलाई कारवाही थालेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यात्रुलाई तानातान गर्ने गाडीका स्टापहरूमाथि कारवाही सुरू गरेको जानकारी दिएको हो।
ईप्रका प्रमुख प्रकाश सापकोटाले यात्रुलाई आफ्नो गाडीमा चढाउनका लागि जबरजस्ती गर्ने, तानातान र हानाहान गर्ने चारजना कण्डक्टरलाई पक्राउ गरिएको जानकारी दिएका हुन्।
डिएसपी सापकोटाले बुधबारदेखि यात्रुमाथि जबरजस्ती गर्नेलाई कारवाही थालेको र दुई दिनमा चारजनालाई कारवाही गरिएको बताए। बुधबार यात्रुलाई जोर जबरजस्ती गर्ने पुरुण जिसी र अर्जुन चौधरीलाई पक्राउ गरी एकदिन थुनामा राखेर आवश्यक काउन्सिलिङपछि बिहिबार छाडिएको र बिहिबार फेरि यात्रुका लागि आपसमा तानातान र हानाहान गर्ने शरद पुन र महेश भण्डारीलाई पक्राउ गरी थुनामा राखेको प्रमुख सापकोटाले बताए।
केही दिन पहिले मात्रै सेतोपाटीले दाङमा यातायात व्यवसायीले यात्रुमाथि गरेको दुर्व्यवहारको बारेमा भिडियोसहितको खबर प्रकाशित गरेको थियो। उक्त खबर प्रकाशित भएलगत्तै दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह र संघीय प्रहरी ईकाईका प्रमुख एसएसपी दीलिपकुमार चौधरीले तत्काल यात्रुमाथिको ज्यादति रोक्न मातहतका यूनिटलाई निर्देशन दिएका थिए।
एसपी सिंह र एसएसपी चौधरीले सार्वजनिक कार्यक्रमै यातायात व्यवसायीले यात्रु आफ्नो गाडीमा लैजानका लागि यात्रुमाथि गरेको धर पडक र ज्यादति तत्काल बन्द गर्ने निर्देशन दिएका थिए। त्यस लगत्तै ईलाका प्रहरी कार्यालय यात्रुका लागि आपसमा तानातान र हानाहान गर्नेहरूका विरुद्ध कारवाहीमा उत्रिएको हो ।
‘मैले सेतोपाटीको न्यूज र भिडियो आफैँ पनि हेरे, जो सभ्य समाजको लागि स्वीकार्य विषय नै हैन,’– एसएसपी चौधरीले भने ‘ यो ज्यादति तत्काल नरोक्ने हो भने प्रहरी छ भन्नुको कुनै अर्थ रहने छैन।’
ईप्रका तुलसीपुरका प्रमुख सापकोटा, जिप्रका प्रमुख एसपी सिंहसमेत सहभागी एउटा सार्वजनिक कार्यक्रममा एसएसपी चौधरीले यात्रुमाथिको दुर्व्यवहार तत्काल रोक्न र यात्रुको अधिकार कुण्ठित गर्नेहरूलाई पक्राउ गरि मुद्दा चलाउन निर्देशन दिएका थिए ।
यो पनि हेर्नुहोस् :