तीन महिनाअघि उनको मनमा एक सपना पलायो– काठमाडौं जाने, काम गर्ने अनि महिनाको ५० हजार तलब खाने। त्यो सपना उनले तब देखिन जब चिनेजानेका दाइले काठमाडौंमा आफ्नै रेष्टुरेन्टमा वेटर बनाइदिन्छु भने।
कास्कीको एउटा गाउँमा साधारण जिन्दगी बाँचिरहेकी उनी हौसिदै रात्रीबस चढेर काठमाडौं आइपुगिन्।
उनलाई बोलाउने दाइको गोंगबु मित्रपार्कमा साकिरा डान्स बार रहेछ। ती दाइले उनलाई फ्लाटमा राखे। त्यहाँ अरु पनि उनीजस्ता युवती थिए। सबैजना डान्सबारमा वेटर हुँ भन्थे। सुरूसुरूमा साहुले नै उनलाई पनि वेटरको काम सिकाए।
केही हप्ता बिते। उनी खुसी नै थिइन् आफ्नो कामप्रति अनि निर्णयप्रति।
तर बिस्तारै उनले थाहा पाइन् उनको काम त वेटरमात्र होइन रहेछ।
केहीदिनपछि साहूले उनलाई गाडीमा राखेर राजधानीका विभिन्न ठाउँमा लैजान थाले।
अपरिचित पुरुषको जिम्मा लगाएर उनी निस्कन्थे। यौन चाहना पूरा गर्न ती पुरूप उनीमाथि झम्टिन्थे।
प्रहरीकाअनुसार ग्राहक मिलाइदिने केही बिचौलिया थिए।
सुरु सुरुमा युवतीले बिचौलियाले भनेको ठाँउमा जान नमानेपछि ग्राहकनै डान्सबारको कोठामा आइपुग्थे। ग्राहकलाई युवतीको कोठामा छिराएर साहुले बाहिरबाट चुकुल लगाइदिन्थे।
पैसा कमाउने सपना बुनेर सहर पसेकी उनी बिरामी परिन्। गाह्रो भएपछि एक दिन नजिकैको मेडिकल गइन्, मेडिकलवालाले पनि यौनकर्मी भएको आशंकामा खासै वास्ता गरेनन् दुखाई कम हुने औषधी दिएर पठाए।
औषधीले काम गरेन। उनी धेरै नै बिरामी परिन्। दैनिक ३÷४ ग्राहकलाई चित्त बुझाउनु पर्ने युवती बिरामी परेपछि साहुले उनलाई एक सरकारी अस्पताल लगे।
पत्थरी भएको रहेछ, अप्रेशन गरे। केही दिनपछि फेरि ती युवतीलाई आफ्नै कोठामा ल्याए।
उनी तंग्रिएकी थिइनन्। तैपनि ग्राहकसँग सुत्न पठाए। उनले इन्कार गरिन्। साहुले कुटपिट गरे।
आजित भएकी युवती भागेर घर जान खोजिन्। यो कुरा चाल पाएका साहूले उनलाई कोठामा थुनेर राखिदिए।
काम गर्ने सर्तमा बन्द कोठाबाट बाहिर निक्लिइन्। एकदुई दिन उनले काम गरिन्।
मेसो मिलाएर अर्की साथीसगै महानगरीय प्रहरी वृत्त चक्रपथ पुगिन्। आफूले भोगेका सबै पीडा सुनाइन्।
‘तीन महिना यता तलब समेत दिएका रहेनछन्,’ सेतोपाटीसँग कुरा गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी योगेन्द थापाले भने, ‘हामीले पीडित युवतीलाई स्थास्थ्य परिक्षणका साथै कुनै सस्थामा पठाइदिन्छौं भनेका थियौं तर उनीहरूले मानेनन्।’
प्रहरीलाई खबर गरेर युवतीहरू डान्सबार फर्किए। डान्सबारमा प्रहरी निगरानी ग¥यो।
गाउँबाट युवती ल्याई यौन धन्दामा लगाउने गरेको पाइएपछि चैत १२ गते डान्सबार सञ्चालक राजु थापा र उनकी श्रीमती पम्फा लामिछानेलाई प्रहरीले हिरासतमा लियो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले तीन महिनादेखि थापा दम्पतीले गाँउबाट सोझा युवतीलाई मोटो रकम पारिश्रमिक दिने भन्दै काठमाडौं ल्याउने, केही दिन डान्सबारमा काम सिकाउने र पछि डान्सबारमा आएका ग्राकहसँगै रात बिताउन बाध्य पार्ने गरेको अनुसन्धानबाट देखिएको बताए।
थापा दम्पतीले मित्रनगरमै एक फ्ल्याट नै भाडामा लिएका थिए।
युवतीलाई आफूसँगै राख्ने ग्राहकको माग बमोजिम भनेका ठाउँमा युवतीलाई आफैंले लिएर पुर्याउँथे।
थापा दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।
आफूलाई दुःख दिने साहूहरू प्रहरीको फन्दामा परेपछि युवती भने गाउँ फर्किसकेका छन्।
‘तपाईंहरूलाई सहयोग गर्ने संस्थाहरू छन्, जानुहुन्छ भने सम्पर्क गरिदिन्छौं भन्दा हामीलाई गाँउ नै ठीक छ सर, हामी गाँउ गएर केही गर्छौं संस्थाको पछि नलागौं भने,’ युवतीलाई उदृत गर्दै डिएसपी थापाले भने, ‘तर यी पापीहरूलाई नछाड्नु होला, अप्रेशन गरेको घाइतेलाई समेत अरूसँग सुत्न पठाए।’