राजधानीको भद्रकाली र माइतीघरबीचको दुरी मुस्किलले एक किलोमिटर छ। यी दुई ठाउँमा केही दिन यता पाल टाँगेर केही मानिस अनसन बसेका छन्। अनसनबाट पूरा गर्न खोजेका उनीहरुका मागमा ठूलो अन्तर छ।
माइतीघरमा अनसन बसेका तीन विद्यार्थी भन्छन्–अस्थायी शिक्षक स्थायी बनाउने परीक्षा रद्द गर्नुपर्छ।
भद्रकाली मन्दिर छेउको पिपलको रूखमूनि अनसन बसेका दुई शिक्षकको माग छ– त्यो परीक्षाको मिति सार्नुपर्छ।
संयुक्त अस्थायी/करार केन्द्रीय संघर्ष समितिले गरेको तेस्रो आमरण अनशनमा नेपाल राष्ट्रिय प्रावि कोल्हवी ७ धोधरपाकट्टी बाराका धर्मेन्द्र ठाकुर ब्राह्मण र स्याउलीभूमि मावि शिवपुरी ४ नुवाकोटका नरबहादुर बस्नेत खानु न खोट्नुसँग अनसन बसिरहेका छन्।
चैत २३ गते तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा तत्काल स्थगित गर्नुपर्ने, हालसम्म नियुक्ति भएका सम्पूर्ण अस्थायी/करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट सामान्य प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने, अस्थायी करार शिक्षकको शतप्रतिशत सेवा अवधि गणना गर्नुपर्ने र अस्थायी÷करार शिक्षकलाई औषधि उपचार खर्चको व्यवस्था गर्नुपर्ने उनीहरूका माग छन्।
अनसनकारी शिक्षकसँगै १०÷१२ जना अस्थायी÷करार शिक्षकहरू पनि भद्रकालीको चौतारीमा भेटिन्छन्।
भोजपुर खैराङस्थित पञ्चकन्या आधारभुत विद्यालयका शिक्षक सुरेश राई पनि त्यो चौतारीमा भेटिए। ०७३ भदौ २६ गतेदेखि उनी सो विद्यालयमा गणित पढाइरहेका छन्।
राईजस्तै ०७२ साल असोज २ गतेपछि नियुक्ति लिएका अस्थायी÷करार शिक्षकहरू आउँदो २३ गते हुने अस्थायी शिक्षकलाई स्थायी गराउने परीक्षामा सहभागी हुन पाउँदैनन्। परीक्षामा सहभागी हुन पाउनु पर्ने मागसहित शिक्षक नरबहादुर अनशन बसेका छन्, उनले ०७२ असोज २ पछि नियुक्ति लिएका देशका छ हजारभन्दा बढी अस्थायी÷करार शिक्षकको प्रतिनिधित्व गरेका छन्।
जिल्लादेखि आयोग, मन्त्रालयसम्म ज्ञापन पत्र बुझाएको, विद्यालय बन्द गर्नेजस्ता संघर्षका कार्यक्रम गरी शिक्षकका माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराए पनि यसअघिका प्रतिवद्धता कार्यान्वयनमा नआएपछि बाध्य भएर आमरण अनसन सुरू गर्नु परेको राईले बताए।
‘पाठ्यक्रम सरलीकरण गर्ने, औषधि उपचार खर्चको व्यवस्था मिलाउने र आन्तरिकतर्फका शिक्षकलाई स्थायी गराउन ७५ प्रतिशत कोटा दिने भन्ने यसअघिको सहमति कार्यान्वयनमा नआएपछि अनसन गर्नु परेको हो। अस्थायी/करार शिक्षकलाई स्वतः स्थायी गराऊ भनेका छैनौं। परीक्षा दिन्छु भन्दा पनि हामीलाई छेक्ने?’ राईले भने।
संयोजक हरिवंश पराजुलीसहित शिक्षक रिमकुमार मगर, धनबहादुर सुनारी मगर, पूर्णबहादुर राना, खुमबहादुर सुनारी, बिष्णु नेपाल, शिव पाण्डेलगायत दिनरात भद्रकालीकै चौतारोमा बिताउँछन्। उनीहरु सरकार, शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगबाट परीक्षा स्थगित हुनुपर्नेलगायत निर्णयको पर्खाइमा छन्।
आफ्ना माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने अनसन बसेका शिक्षक ठाकुरले बताए।
‘हाम्रा सबै माग जायज छन्, पूरा गर्नुपर्छ अनि मात्रै अनसन तोड्छौं’ ठाकुरले भने, ‘हामीसँग भएको सम्झौता र शिक्षा नियमावलीमै रहेको आन्तरिकतर्फ ७५ प्रतिशत कोटा दिने निर्णय किन लागू गरेनन्? किन ३०/३५ प्रतिशतमात्रै कोटा लागू गर्न खोजियो? आन्तरिकतर्फका ७५ प्रतिशत शिक्षकलाई स्थायी गर्ने ग्यारेन्टी हुनुपर्छ, सोहीअनुसार कोटा निर्धारण हुनुपर्छ।’
अनसनरत शिक्षक–विद्यार्थीको माग पूरा गर्न वार्ता समिति गठन भए पनि उधारो प्रतिवद्धता सुन्न आफू वार्ताको पक्षमा नरहेको शिक्षकहरू बताउँछन्।
‘प्रक्रियागत तवरले ज्ञापन पत्र बुझायौं तर राज्यले विभेदपूर्ण तवरले हेरेपछि आमरण अनसनमा बस्न बाध्य भयौं’ ठाकुरले भने, ‘राज्यले सुन्दै सुन्दैन, राज्यको ध्यानाकर्षण गराउन अनसन बसेर माग पूरा गर्न दबाब दिएका हौं।’
अनसनमा बसेका शिक्षकको स्वास्थ्य अवस्थाबारे नियमितजसो परीक्षण भइरहेको छ।
मुलुकमा ३६ हजार हाराहारीमा अस्थायी शिक्षक छन्। २२ हजार ७६ पदका लागि २३ हजार दुइ सय ८६ जना शिक्षक परीक्षाको तयारीमा छन् भने छ हजारभन्दा बढी शिक्षक परीक्षाबाटै बञ्चित छन्।
विद्यार्थीको अन्तिम परीक्षा सम्पन्न गरेपछि अनसन सुरू गरेको बताएका शिक्षकले आन्दोलनको नाममा पठनपाठन प्रभावित नभएको दाबी गरेका छन्।
अनसनरत विद्यार्थीको माग परीक्षा रद्द गर्नुपर्ने मात्र छैन शिक्षा ऐन ०२८ नवौं संशोधन नै खारेज गर्नु पर्नेछ।
उनीहरूले शतप्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नु पर्ने, वर्षेनी शिक्षक सेवा आयोगले खुल्ला विज्ञापन गर्नु पर्ने र शिक्षामा राजनीतिक हस्तक्षेप बन्द हुनु पर्ने माग पनि राखेका छन्।
शिक्षाशास्त्र संकायका विद्यार्थी राजन लम्साल, मिलन बाँस्तोला र हेमराज थापा माइतीघर मण्डलामा चैत १२ गतेदेखि आमरण अनशनमा छन्।
अनसनस्थलमा भेटिएका विद्यार्थी विकाश डाँगीले चैत २३ गते हुने परीक्षा स्थगित गरेपछि मात्रै वार्तामा बस्न सकिने बताए।
‘शिक्षा ऐनको नवौं संशोधन खारेज हुनुपर्छ। पूराना शिक्षकलाई ७५ प्रतिशत कोटा दिने, २५ प्रतिशतमा नयाँ विद्यार्थीले खुल्ला प्रतिस्पर्धा गर्नु पर्ने नियम हामीलाई मान्य छैन, यो खारेज गर्नुपर्छ’ उनले भने, ‘खुल्ला प्रतिस्पर्धाबाट परीक्षा हुनुपर्छ, जसले नाम निकाल्छ उही स्थायी हुन्छ।’
पूराना शिक्षकले गुणस्तरीय शिक्षा नदिने विद्यार्थीको तर्क छ।
अर्का विद्यार्थी वीरेन्द्र उपाध्यायले हातमा लाइसेन्स भए पनि नयाँ पुस्ताका विद्यार्थी बेरोजगार रहेको बताए।
‘हातमा डिग्रीको सर्टिफिकेट भएर पनि बेरोजगार भइयो। शिक्षक सेवा आयोगले पनि लोकसेवा आयोगले जसरी नै प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्छ। शिक्षा ऐनको नवौं संशोधन खारेज गरी नयाँ प्रक्रियाबाट परीक्षा लिनुपर्छ। अनि मात्रै शिक्षा गुणस्तरीय बनाउन सकिन्छ,’ उनले भने।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका नेताले मंगलबार ज्ञापन पत्र बुझाएर चैत २३ हुने परीक्षा स्थगित गर्न माग गरेका छन्। आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकतामा राखेर शिक्षक स्थायी गर्न खोजिएको विद्यार्थी नेताले विरोध गर्दै आएका छन्।
अनसनरत शिक्षक–विद्यार्थीका समस्या समाधान गर्न शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको नेतृत्वमा शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल र सहसचिव केशव दाहाल सम्मिलित वार्ता समिति गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा ऐनको नवौं संशोधनमा आन्तरिकबाट ७५ प्रतिशत शिक्षक स्थायी गर्ने र बाँकी विज्ञापन गरी खुल्लाबाट शिक्षक स्थायी गर्ने व्यवस्थाको विद्यार्थीले विरोध गर्दै आएका छन्।
शिक्षामन्त्री पोखरेलले अनसनरत शिक्षक–विद्यार्थीलाई छिटो वार्तामा आउन आह्वान गरेका छन्।
‘वार्तामा आउन अनसनरत पक्षलाई आग्रह गर्दछु। वार्ता टोली गठन भइसकेको छ, काम सुरू गरिसकेको छ। उक्त टोलीले तयार गरेको प्रतिवेदन सुनेपछि समस्या समाधान गर्नेबारे नयाँ उपाय खोजी गछौं’ शिक्षामन्त्री पोखरेलले सेतोपाटीसँग भने, ‘अनशनरत शिक्षक–विद्यार्थी वार्तामा आउनुपर्छ, वार्ताबाटै समस्याको हल खोजौं।’
विद्यार्थीले परीक्षा स्थगित गर्न माग गरे पनि शिक्षक सेवा आयोगले चैत २३ गते दिउँसो १ बजेबाट परीक्षा लिने गरी केन्द्रसमेत तोकिसकेको छ।