दाङ प्रहरीले चितुवाको छालासहित प्यूठानका एक जना युवालाई पक्राउ गरेको छ।
प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय सुनिल सुनारलाई एक थान चितुवाको छाला र आठवटा दाह्रासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बुधबार दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले गोप्य सूचनाको आधारमा अवैध रूपमा दुर्लभ वन्यजन्तु चितुवाको छालासहित सुनारलाई घोराहीको सिस्नेबाट पक्राउ गरिएको जानकारी दिइन्। दुर्लभ वन्यजन्तुको छाला ओसार पसार तथा विक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले मंगलबार बेलुकी घोराही उपमहानगरपालिका १७ सिस्नेखोलाबाट सुनारलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। पक्राउ गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ चौडाइ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
पक्राउ परेका सुनारलाई वन ऐन अन्तरर्गत कारबाही हुने एसपी सिंहले जानकारी दिइन्। पछिल्लो समय दाङलाई ट्रान्जिट बनाएर पहाडी जिल्लाबाट दुर्लभ वन्यजन्तुको छाला तथा हाड तस्करी बढेको दाङ प्रहरीले जानकारी दिएको छ ।