खुमलटारका स्थानीय अचेल औधी खुसी छन्। खुसी हुन उनीहरूलाई कसैले केही ठूलै कुरा दिएको होइन। आँगनअगाडिको बाटो धुलो नउड्ने भयो भनेर उनीहरूको खुसी बढेको हो।
सम्बन्धित निकायले खनेपछि कालोपत्रे गर्नुपर्ने दायित्व पूरा नगर्दा ४ वर्षदेखि उनीहरूले धेरै कष्ट व्यहोरे। लामो संघर्ष गरे। कहिले डेलिगेसन गए त कहिले बाटै बन्द गरिदिए।
मंगलबार बिहान हामी पुग्दा सडकमा केही कामदार अलकत्रा र गिटीरोडा फिजाइरहेका थिए भने रोलरले त्यसलाई सम्याइरहेको थियो। काम भइरहेको ठाउँमा स्थानीयको भीड पनि थियो।
भीडमै थिइन्- कृष्णमैया शाही।
‘यो बाटोमा जब धुलोधुँवा बढ्न थाल्यो। मासु पसलको व्यापार स्वात्तै घटेको थियो’, शाहीले अनुहार उज्यालो पारेर भनिन्, ‘हिजोबाट कालोपत्रे सुरू भएको छ। धुँवाधुलो हटेको छ। अब व्यापार बढ्ने भयो। हामी पनि स्वस्थ्य हुने भयौं।’
शाही खुमलटारमा २२ वर्षदेखि मासु पसल चलाएर बसेकी छन्।
सोमबारदेखि सडक कालोपत्रे गर्न सुरू गरिएको हो। मंगरबारसम्म ३ सय मिटर कालोपत्रे सम्पन्न भएको संयुक्त टोल सुधार संघर्ष समितिका अध्यक्ष हिमाल राईले बताए।
‘हामी एकदमै खुसी छौं। जनता नकराएसम्म नहुने रहेछ। हामीले लामो संघर्ष गर्यौं। बाटो कालोपत्रे सुरू भयो,’ राईले भने, ‘अहिले सरकारमा भएकाहरू पनि धेरै आन्दोलन गरेर त्यहाँ पुगेकाले होला हामीले पनि सडक अवरोध गरेपछि मात्र कुरा सुने। अन्य देशमा यस्तो हुँदैन।’
राई २६ वटा टोल सुधार समिति मिलेर बनेको संघर्ष समितिका संयोजक पनि हुन्।
‘पूर्वप्रधानमन्त्री प्रचण्ड छिमेकी हुन आएपछि सबै टोल सुधार समितिका प्रतिनिधिसहित स्वागतपत्र बुझायौं। हाम्रा समस्या राख्यौं। उहाँले चाहेको भए एक कल फोन गरे पनि पुग्थ्यो। तर दु:खको कुरा कुनै पहल भएन,’ राई भने।
खुमलटारका स्थानीय आफ्नो माग पूरा गर्नका लागि विभिन्न निकाय धाएका थिए।
‘१५ महिनादेखि मात्र म नेपालमा छु। नेपाल आउँदा घर त सबै धुलोधुलोले घेरेको थियो,’ राईले भने, ‘पहिल्यै धुलैधुलो भएको सडकलाई स्थानीयले पानी खान पाउने आशले बाटो खन्न दिइयो तर सडक व्यवस्थित गरिएन। यसबीचमा हामी सिडिओ कार्यालयमा ४ पटक, मेलम्ची खानेपानी, नगरपालिका, सडक डिभिजनमा सबैतिर गयौं। तर केही भएन।’
३ सय मिटर बाटो कालोपत्रे मंगलबार सकिने भए पनि बाँकी ६७० मिटर वैशाख १५ भित्र सम्पन्न हुनेछ। स्थानीयहरु तोकिएको समयभन्दा अगाडि नै सडक कालोपत्रे गराउन कटिवद्ध छन्।
कालेपत्रे गर्दा कुनै तलमाथि नहोस् भनेर स्थानीय आफैं उपस्थित भएको स्थानीय सुवास महतले बताए।
‘कालोपत्रे गर्दा तलमाथि नहोस् भनेर हामी आफैं नापजोखमा लागेका छौं,’ महतले भने, ‘बल् बल्ल बाटो कालोपत्रे हुन लागेको छ। यसमा पनि कुनै सम्झौता हुन्छ कि भनेर डर छ। त्यसैले आफै संलग्न भएका हौं।’
कालोपत्रे नभएको बाँकी ६७० मिटर सडकमा पानी हाल्ने भने पनि त्यो नभएको स्थानीयको गुनासो छ।
स्थानीय नै जागरुक भएको र मिडियाले पनि साथ दिएकाले यो सबै सम्भव भएको सङघर्ष समितिका कोषाध्यक्ष धनबहादुर राईले बताए।
‘बाटो बन्द गरेपनि अन्य स्थानीयले कुनै गुनासो गरेनन्,’ राईले भने, ‘हामी आफैं गोलबद्ध भएर अगाडि बढेमामात्र समस्या समाधान हुने रहेछ।’
गत शुक्रबार सडक विभाग, ठेकेदार र संघर्ष समितिबीच भएको त्रिपक्षीय सम्झौता भएसँगै सो सडकमा कालोपत्रे सुरु भएको हो। ४ वर्षदेखि सडक निर्माण सुरु भए पनि सम्पन्न नगरेकाले बुधबारदेखि स्थानीयले सडक अवरोध गरेका थिए।
स्थानीयको आवाज नसुनिएको भन्दै उनीहरुले शुक्रबार बिहानदेखि अवरोध थप कडा पारेका थिए। शुक्रबार उनीहरूले ढोलाहिटी, सामाङचोकसम्मै सडक अवरोध गरेका थिए। उनीहरुले बुधबार २ घन्टा, बिहिबार बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म र शनिबार पनि बिहान ८ बजेदेखि नै सडक अवरोध गरेका गरेका थिए।
शनिबारदेखि निर्माण सुरु भएको सो सडक वैशाख १५ भित्र सक्ने ठेकेदार कम्पनी युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्सका सकुन्तलाल हिराचनले बताए।
यो पनि हेर्नुहोस् :