जता ततै धुलै धुलो। जता हेर्यो उतै फोहोरको डङ्गुर। सार्वजनिकस्थल र सडकमा फोहोरको पहाड।
‘सकिन्छ फोहोर व्यवस्थापन गरौं सकिन्न फोहोर नगरौं’ भन्ने निकायनै सडकमा फोहोर फालिरहेको छ। फाल्नेलाई कुनै कारबाही छैन। नियमन गर्ने निकायनै सडकमा फोहोर फालिरहेको छ।
झापाका अधिकांश शहरबाट निस्कने फोहोरले सडक किनार र जंगल ढाकेको छ।
मेचीनगरले सडक किनारमा खुलेआम फोहोर फाल्छ। विर्तामोडले पनि त्यसै गर्छ। शिवसताक्षी नगरपालिकाले जंगलमा फाल्छ। यस्तै दमकले खोलाको बगरमा लगेर फाल्छ।
कमल गाँउपालिकाले रतुवामाई वृक्षारोपण आयोजनाको जंगल र पूर्व-पश्चिम राजमार्गलाई डम्पिङ साईड बनाएको छ। कनकाई नगरले पनि जंगलमै फोहोर फालेको छ।
झापाका सहर बजारबाट दिनहुँ निस्कने फोहोरले अहिले राजमार्ग र जंगल ढाक्न लागिसके।
बिर्तामोडका सहरबासीले स्वस्फूर्त सडकमा फोहोर फालिरहेका हुन्छन्। घरमा जम्मा भएको फोहोर पोको पारेर सडकमा फुत्त मिल्काउन सिपालु छन् सहरबासी।
यसरी खुल्ला सडकमा फोहोर फ्याक्नेलाई झापामा कुनै कारबाही हुन्न।
बिर्तामोडमा पूर्वकै सबैभन्दा धेरै फोहोर जम्मा हुने आँकलन गरिएको छ । यसको कारण भने सबैभन्दा ठूलो कृषि उपज बजार पनि हो विर्तामोड। यहाँ बिषादीयुक्त भारतीय तरकारी खरिद बिक्रि गर्ने मुख्य थलो भएका कारण फोहोरको मात्रा धेरै भएको हो। तर, कति परिमाणमा फोहोर बिर्तामोडमा जम्मा हुन्छ भन्ने तथ्यांक कसैसँग छैन।
असार अगाडिसम्म स्थानीय तहमा कर्मचारीमात्र भएको भन्दै यसबारे केही गर्न नसकिएको भनेर फोहोर ब्यवस्थापनबाट पन्छिने गरेका थिए। तर अहिले जनप्रतिनिधि आएको पनि महिनौ भइसक्यो तर फोहोर बढेको बढ्यै छ।
सडक किनारमा हिड्ने सर्वसाधारण मुख छोपेर हिड्न बाध्य छन्।
यसैबीच जनप्रतिनिधिले फोहोर ब्यवस्थापनका लागि विर्तामोडमा दुई वटा समिति बनाइसकेका छन्। पहिले वडा नम्बर २ का अध्यक्ष नगेन्द्र संग्रौलाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइयो। त्यो समितिले बिर्तामोड १० मा लगभग १५ कठ्ठा जमिन भाडामा लिएर अस्थायी रुपमा त्यहाँ फोहोर थुपार्ने काम गर्यो।
त्यसपछि नगर कार्यपालिकाको बैठक बसेर वडा नम्बर ४ का अध्यक्ष कुलप्रसाद संग्रौला संयोजक रहेको नगरस्तरीय बिपद ब्यवस्थापन समितिलाई त्यो जिम्मेवारी दिइयो। अहिले बिर्तामोड १० को त्यो स्थानमा फोहोर भरिसकेको छ। अब उत्पन्न भएको फोहोर कहाँ फाल्ने भनेर सकस छ।
अहिले फोहोर फाल्दै आएको ठाउँ भरिएको छ।वडा नम्बर ७ मा स्थानीय वन उपभोक्ता समूहसँग जग्गा लिजमा लिएका छौ’, मेयर ध्रुव सिवाकोटीले भने,‘अब विर्तामोडको फोहोर त्यही खाडल खनेर पुरिन्छ।’
मेचिनगरले विर्तामोड चारआली राजमार्गमा फोहोर फाल्छ। यसले आफ्नो नगरको वेईजत भएको विर्तामोड नगरका मेयर ध्रुव सिवाकोटीको आरोप छ। ‘एरिया मेचिनगरकै भए पनि दुरीको हिसावले त विर्तामोड नजिकै छ। यो त हेपाहा प्रवित्ति भयो,’ सिवाकोटीले भने,‘ पटक पटक हामीले राजमार्गमा फोहोर नफाल्न गरेको आग्रह मेचिनगरले वेवास्ता गरेको छ।
न्यायीक समितिकी अध्यक्षसमेत रहेकी मेचिनगरकी उपमेयर मीना उप्रेतिले आफ्नै नगरले विर्तामोडमाथि अन्याय गरेको स्वीकार गरिन्। उनले चारआली-बुट्टाबारी सडकमा फालिएको फोहोर तत्काल व्यवस्थापन गरिने प्रतिवद्धता जनाईन्।
काँकडभिट्टाबाट बिर्तामोड आँउदा चारआली जंगलको सडकमा फोहोरको गन्धले हिडिनसक्नु हुन्न।
जिल्ला बन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जंगल परिसरमा फोहोर फाल्नु गैरकानुनी भएको बताए। पर्यावरण सन्तुलनका हिसाबले पनि जंगलमा फोहोर फ्याक्न नहुने धारणा उनको छ।
उनले झापाका ६० वटै सामुदायिक बन उपभोक्ता समूहलाई बन क्षेत्रमा फोहोर फ्याक्नेलाई नियन्त्रणमा लिन पत्र लेख्ने बताए।
अस्पतालमा प्रयोग गरेका सिरिन्ज, प्याड, स्लाइनका बोतल, रगत लतपतिएका कटन समेत झापाका बिभिन्न बन क्षेत्रमा फालिन्छन्। त्यसका कारण वातावरण प्रदुषण हुनुका साथै बन्यजन्तुलाई समेत यसले असर पुग्ने वातावरणविदको भनाइ छ।
बिर्तामोडसँगै नगरपालिका घोषणा भएका अन्य नगरले तीन वर्षे योजना बनाएर चौथो वर्षपछि फोहोरबाट लाभ लिने घोषणा गरेका छन्। अन्य नगरले त्यसको लागि बजेट बिनियोजन गरेर दातृ निकायको सहयोगमा काम समेत शुरु गरिसकेका छन् । तर, यहाँका सरोकारवालाले भने हालसम्म यसबारेमा सोच्न पनि भ्याएका छैनन्।