सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरि सेठियामाथि गत फागुन १ गते शिवरात्रीको दिन राति करिब ९ बजे पहिलो पटक आक्रमण भयो।
अज्ञात समूहको आक्रमणमा सामान्य घाइते भएका सेठियाले भैरहवास्थित भिम अस्पतालमा उपचार गराए।
घटनाको सम्बन्धमा स्वास्थ्यकर्मीहरूलाई समेत गुपचुप राख्न सेठियाले आग्रह गरे। आक्रमणमा घाइते हुँदा लागेको घाउ लडेर लागेको भन्दै विषयान्तर गरे।
५ दिनपछि शरीरको पछाडि भागमा लागेको घाउ ड्रेसिङ गराउन पुनः अस्पतालमा जाँदा सेठियाको घटनाबारे प्रहरीले बल्ल थाहा पायो। घाउको ड्रेसिङ गर्ने क्रममा उनको शरीरबाट गोलीको छर्रा भेटियो तर पनि उनले उक्त घटनाबारे अगाडि बढ्न चाहेनन्।
सेठिया आवरणमा मोबाइलका व्यापारी हुन्। आफूमाथि आक्रमण हुँदा समेत घटना लुकाउन खोजेका कारण उनको विगत र वर्तमान अनुसन्धान गर्दै थियो रुपन्देही प्रहरी।
यसै बीचमा दोस्रो पटक फागुन २८ गते उनीमाथि पुनः आक्रमण भयो। स्थानीयको सहयोगमा सेठियामाथि गोली प्रहार गर्ने भारतीय नागरिक रमजान मुसलमानलाई प्रहरीले नियन्त्रणमा लियो भने अर्का एकजना फरार थिए।
पक्राउ परेकाको सूचनाका आधारमा भारतीय नागरिक नौतनवाका मासु व्यवसायी मन्जुर मुस्ताज मुसलमानलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिन सफल भयो जुन गोली प्रहार गर्ने व्यक्ति थिए।
पक्राउ परेका मन्जुरले आफूले मोहन बानियाँबाट १५ लाख रुपैयाँ पाउने सहमतिमा पचास हजार पेश्की लिएर सेठियामाथि गोली प्रहार गरेको बताएर प्रहरीलाई अलमल पार्न खोजे। प्रहरीले मन्जुरको बयानका आधारमा मोहन बानियाँमाथि छानबिन थाल्यो। तर, बानियाँ निर्दोष देखिए।
पहिलो पटक अजय जयसवाल र मन्जुर मिलेर गोली प्रहार गरेका थिए। त्यो बेला हरी सेठियालाई सामान्य छर्रा लाग्यो। काम सफल नभएपछि अजय जयसवाल व्याक भए।
दोस्रो पटक आक्रमण गर्दा रमजान र मन्जुर दुईजना थिए। दुवैले मादक पदार्थ सेवन गरेका कारण त्यो बेला पनि निशाना चुक्यो। जसबाट आक्रमणको पुरै योजना बाहिरियो।
हरिलाई पटक/पटक गोली प्रहार हुनु, तर हरिले लुकाउन खोज्नु जस्ता विषयले प्रहरीमा तनाव पैदा भइरहेको थियो।
केही समय मन्जुरको बयानले मोहन बानियाँमाथि अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले हरिको कारोबार र अन्य सम्वन्धबारे अध्ययन थाल्यो।
हरिसँग केही वर्षकै अन्तरालमा अस्वभाविक आम्दानीको रवाफ थियो। त्यसैले पनि प्रहरीले उनको कारोबारहरूको खोजी गर्दै थियो। यसै बीचमा पक्राउ परेका मन्जुरले अर्को बयान दिए हरिलाई गोली हान्न लगाउने भारतीय नागरिक अब्जल सद्दाम हुन् भनेर। प्रहरी अनुसन्धान त्यता मोडियो।
[caption id="attachment_144522" align="alignnone" width="1024"]
घटनामा संलग्न अभियुक्तहरू ।[/caption]
हरि सेठिया र भारतीय नागरिक अव्जल सद्दाम पर्दा पछाडि अवैध हुण्डी र ढिकुटी लगायतका सीमासँग जोडिएका विभिन्न कारोबारका व्यापारिक साझेदार थिए। सेठियालाई प्रयोग गरेर प्रहरीले सद्दामलाई नेपाल बोलायो।
यी दुईको अवैध कारोबारमा टकराव नभई लाखौंको सुपारी दिएर हत्या गर्ने सम्मको योजना बनेको छैन भन्ने विश्वासका साथ आफूहरू अगाडि बढेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
यस बीचमा सेठियाले आफ्नो र सद्दामको अवैध कारोबार लुकाउने प्रयत्न गरे। सद्दामको मोबाइलमा भएका कुराकानीबाट हुण्डीको कारोबार खुल्ने डरले सबै कुराकानी र म्यासेजहरू डिलिट गरिदिए। उनीहरूको धेरै कुराकानी वाट्सएपमा हुने गरेको थियो।
हरि सेठियालाई सद्दामले २ महिना अघिदेखि हत्या गर्ने योजना बनाएका थिए। जुनदिन हरिले सबैभन्दा धेरै रकम संकलन गरेर भारत पठाउँछन् त्यसैदिन हत्या गर्यो भने ठूलो रकम हात लाग्छ भन्ने सोचाई सद्दामको थियो।
पहिलोपटक हत्या गर्ने योजना असफल भयो। तर दुवैको सम्बन्ध र कारोबार निरन्तर थियो। फागुन ३० गते सेठियाले सद्दामलाई ३५ लाख भारु हुण्डी गरे। यही पैसा खाने दाउमा ६ लाख रुपैयाँ भारु सुपारी दिएर सद्दामले हरि सेठीयालाई मार्न मन्जुर र रमजानलाई भैरहवा पठाए
तर अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनीहरूले हरिलाई निशाना लगाउन सकेनन् उल्टै आफैँ पक्राउ परे।