चैत्र शुक्ल नवमीका दिन मनाइँने रामनवमी पर्व आज श्रद्धाभक्तिका साथ भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।
यसै अवसरमा देशका विभिन्न भागका राम मन्दिरहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ। आज बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यावतीको सुपुत्रको रूपमा श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो।
विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो। भगवान रामको कुण्डलीमा पाँच ग्रह सुर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो। वर्षका चार नवरात्रमध्येको बासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसहरूको अन्त्य गरी रामराज्यको स्थापना गरेका थिए।
धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्व मनाउनुको महत्व भगवान रामजस्तै मर्यादित र अनुशासित राज्य संचालन गर्नु हो। रामनवमीको अवसर पारेर नेपालको जनकपुर र भारतको अयोध्यामा पनि रामलीला प्रर्दशन गरिएको छ। रामनवमीका दिन भगवान रामचन्द्रको पूजा, पाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने मान्यता रहिआएको छ।
https://www.youtube.com/watch?v=zH-bMp9LwEk