चार वर्षदेखि ओछ्यान परेका झापा शिवसताक्षी-३ पाराबारीका टिकाप्रसाद नेपालको जीवनमा शुक्रबारदेखि अप्रत्याशित परिवर्तन आएको छ।
१० मिनेट दुरीमा रहेकी आमालाई समेत भेट्न नपाएका उनले भने, ‘भेट्न जाँउ खुट्टाको साहारा थिएन। कसरी जाने?,’ शुक्रबार उनले घरमै दाताले दिएको ह्विल चेयर पाएपछि भने, अब मेरो जीवनमा अप्रत्यासित परिवर्तन आउनेछ। मेरी आमाको घर ४ वर्ष पछि पुग्ने भएको छु। साथी भाइसँग पनि भेटघाट बढ्ने छ।
अब आफूले चाहेका ठाँउमा पुग्ने र जीवनलाई रमाईलो बनाउने उनले बताए।
सन् २०११ मा वैदेशिक रोजगारीका लागि कतार गएका उनलाई सेतो मच्छडले डस्यो। ‘शुरूमा ज्वरो मात्र आएको थियो,’ उनले भने, ‘सामान्य होला भनेर ड्युटी गरिरहेँ। ईलाजको सुरसार गरिनँ। निरन्तर ज्वरोसहित शरीरका अन्य अंगमा असामान्य दुखाई बढ्न थालेपछि कम्पनीको सहयोगमा कतारमै ईलाज गराएँ। चिकित्सकले मेनेन्जजाईटीस् भएको पुष्टी गरेपछि कम्पनीले घर फर्काइदियो।’
सेतो मच्छडको डसाईबाट हुने मेनेन्जजाईटिस रोग लिएर नेपाल आएका उनका सुरूमा सबै अंग राम्ररी चल्थे। ‘जव घर आईपुगेँ, विस्तारै हात र खुट्टा चल्न कठीन हुँदै गयो,’ उनले भने, ‘काठमाडौंलगायत भारतको बैंङलोरमा पनि उपचार गरेँ। तर, हात खुट्टा नचल्ने गरी प्यारालाईसीस भइसकेछ।’
नेपालको जोरै हात खुट्टा चल्दैनन्। परिवारको आर्थिक अवस्था पनि दयनीय छ। ‘विदेश जाँदा र उपचारका लागि अस्पताल धाउँदा परिवारको आर्थिक स्थिति धेरै कमजोर बन्यो,’ उनले भने, ‘मेरो घरको जुन कोठामा मेरा लागि बिच्यौना लागेको छ त्यही बिहान बेलुकाको छाक टार्न सामान्य पसल थापेको छु। त्यही पसलमा सामान किन्न आउने ग्राहक मेरा जीवनका देवता हुन्।’
नेपालले यसअघि घरको आँगन पनि टेक्न सकेका थिएनन्। चार वर्षदेखि उनी कोठामै थिए। ‘रूम टु ट्वाईटबाहेक उहाँको अन्य ठाँउमा जान आउन सक्ने अवस्था छैन,’ उनकी श्रीमती जयन्ता प्रसाईले भनिन्, ‘त्यसका लागि पनि हाम्रो सहारा पर्छ।’
शौचालय बस्न पनि उनलाई समस्या छ। शौचालयको कोठामा एउटा कुर्सी राखिएको छ । त्यही कुर्सीमा बसेर उनी शौच गर्छन्।
‘मेरो भगवान भनेकै श्रीमती र छोरा वासुदेव हुन्, उनले भने, ‘जीवन जिउने सहारा श्रीमती र छोरा नै हुन्।’
काठमाडौं घर भएर अमेरिका बस्दै आएकी अमृता लम्साल नेपालको जीवनमा परिवर्तन ल्याउने पुल बनिन्। उनकै सहयोगमा नेपालले ह्वीलचेयर पाए।
शिवसताक्षी नगरकी सामाजिक परिचालक माया सापकोटा र झापाका पत्रकार तिर्थ सिग्देलले विरामीको अवस्थाबारे जानकारी दिएपछि अमेरिकामा बस्दै आएकी अमृता लम्सालले नेपाललाई सहयोग गरेकी हुन्।
लम्सालले नेपाललाई सहयोग गर्ने वचन दिएको १५ दिन भित्रै प्यारालाईसीस बिरामीले प्रयोग गर्ने ह्विल चेयर नेपालले पाएका हुन्।