शुक्रबारदेखि काठमाडौं उपत्यकामा चल्ने सबै सार्वजनिक सवारी चालक र सहचालकलाई ‘छुट्टै ड्रेस’ लगाउने व्यवस्था गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा सबै सार्वजनिक सवारी साधनका चालक र सहचालकका लागि पहिचान खुल्ने ज्याकेटको व्यवस्था गरिएको हो।
चालक र सहचालकको पहिचान र अनुशासन कायम गर्न छुट्टै ड्रेस लगाउने अभियान सुरू गरिएको हो। काठमाडौंको सुन्धारामा एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अभियानको शुभारम्भ गरे।
कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक खनालले सडक सभ्यताका लागि ड्रेसको व्यवस्था गरिएको बताए। अभियानले चालक र सहचालकको पहिचान खुलाउन पनि सहज हुने उनको भनाइ छ।
यात्रुहरूले चालक/सहचालकको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यका साथ उनीहरूलाई पनि ड्रेसको व्यवस्था गरिएको नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौलाले बताए।
सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरोकारवाला निकायसँग छलफल गरी विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।
https://www.youtube.com/watch?v=xJpzKfsaqEw&feature=youtu.be