सामुदायिक विद्यालयतर्फ देशमै अब्बल रहेको बुटवलको कालिका माध्यमिक विद्यालय र कमजोर शैक्षिक अवस्थामा रहेको मानवज्ञान माध्यमिक विद्यालय मर्ज भएर कालिका मानवज्ञान मावि भएको छ।
दुवै विद्यालयलाई समायोजन गरी कालिका मानवज्ञान माविको नामाकरणबाट पठनपाठन गराउने सहमति भएअनुरुप बुटवल उपमहानगरपालिका कार्यपालिकाको बिहिबार बसेको बैठकले शैक्षिक वर्ष २०७५ देखि लागू हुने गरि सर्वसम्मत रूपले मर्ज गर्ने निर्णय गरेको हो।
दुवै विद्यालयका प्रतिनिधिहरूको २०७४ माघ २३ गते बसेको बैठकले बुटवल वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मावि र रामनगरमा रहेको मानवज्ञान माविलाई समायोजन गरी बृहत गुरुयोजना समेत निर्माण गरेको थियो।
चैत्र ५ गते शिक्षा विभागमा पेश गरिएको उक्त गुरुयोजनामा स्वीमिङ पुल, छात्रावास, शिक्षक आवासगृहका अतिरिक्त खेलकूदका लागि विभिन्न योजनासहित ८० करोडको योजना अगाडि सारिएको छ।
सामुदायिक विद्यालयतर्फ जिल्लामै सबैभन्दा बढी विद्यार्थी भर्ना गरी सोही अनुरुप उर्तिण समेत गराउँदै आएको कालिका माविलाई कमजोर शैक्षिक अवस्थामा रहेको मानवज्ञान माविका विद्यार्थीहरूको शैक्षिक गुणस्तर समेत माथि उकास्ने जिम्मेवारी थपिएको छ।
विगतमा उत्कृष्ट नजिताका कारण कालिका माविले राष्ट्रियस्तरमा ख्याति कमाएको छ भने मानवज्ञान माविले ‘सि’ र ‘डि’ ग्रेडमै चित्त बुझाएको छ।
हाल कालिकामा १८३ र मानवज्ञानमा २८ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्। विद्यालय मर्ज भई बनेको कालिका मानवज्ञानको नेतृत्व कालिकाले गर्ने छ।
यसवर्ष भने एसईई र अन्य कक्षाका विद्यार्थीहरूले पनि कालिका मावि र मानवज्ञान माविबाट छुट्टाछुट्टै प्रमाणपत्र प्राप्त गर्ने छन्। अहिले संचालन भइरहेको एसईई परीक्षामा कालिका माविबाट ३ सय ६८ विद्यार्थी सहभागी छन् भने मानवज्ञान माविबाट २२ जना विद्यार्थी सहभागी छन्।
कालिका माविका प्रधानाध्यापक घनश्याम पाठकले अहिले चलिरहेको परीक्षामा आआफ्नै विद्यालयबाट सर्टिफिकेट दिइने र अर्को वर्षदेखि कालिका मानवज्ञान माविको नामबाट सबै शैक्षिक कृयाकलाप सुरू गरिने बताए।
कालिका माध्यमिक विद्यालयमा हाल ४ हजार ३ सय ९७ विद्यार्थी रहेका छन् भने मानवज्ञानमा जम्मा १ सय ६० विद्यार्थीहरू रहेका छन्। कालिका मानवज्ञान माध्यमिक विद्यालय भएपछि आगामी शैक्षिक वर्ष ५ हजार विद्यार्थी संख्या पुर्याउने र आगामी तीन वर्षभित्र साढे आठहजार विद्यार्थी संख्या पुर्याउने लक्ष्य राखिएको प्रधानाध्यापक पाठकले जानकारी दिए।
४ हजार ५ सय विद्यार्थी क्षमता रहेको कालिका माविमा थप भौतिक पूर्वाधार नहुँदा भर्ना हुन आउने सयौं विद्यार्थी फर्किन बाध्य थिए। पाठकले कालिका मानवज्ञान मावि भएपछि भौतिक पूर्वाधार थप गर्दै विद्यार्थी संख्या पनि थप गरिने बताए। हाल कालिका माविको दुई विगाह, २ कट्ठा जग्गा रहेको छ भने मानवज्ञान माविको ३ विगाह २ कट्ठा जग्गा रहेको छ।
मर्जपछि कालिका माविको भवनलाई सेक्टर १ र मानवज्ञानको भवनलाई सेक्टर २ बनाई अध्यापन गराउने योजना रहेको। ‘अहिले मानवज्ञान मावि रहेको भवनमा कक्षा १ देखि १० सम्म नै अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिने र कालिका मावि रहेको भवनमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालन गरिने छ’, उनले भने।
दुई विद्यालय मर्जरपछि शिक्षाको गुणस्तरमा अझै वृद्धि हुने पाठकले दाबी गरे। सबै परीक्षा सकिएपछि चैत १५ गतेदेखि नै साविकको कालिका माविका तालिम प्राप्त शिक्षकले तालिम दिने छन्। तालिम लिएर पनि गुणस्तर कायम गर्न नसक्ने शिक्षकलाई विकल्प खोज्न आग्रह गरिने पाठकले बताए।
‘विगतदेखि नै कालिका माविले शैक्षिक गुणस्तरमा कुनै सम्झौता गरेको छैन अबपनि गुणस्तरमा कुनै सम्झौता हुँदैन दरबन्दीमा रहेका शिक्षकले पनि कि त क्षमता विकास गर्नुपर्यो होइन भने विकल्प खोज्नुपर्यो।’
बुटवल उपमहानगरपालिकाले पनि दुई विद्यालयको मर्जरलाई स्वीकृति दिँदै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश जाने मात्र नभई बुटवलका सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर माथि उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।
मर्जरपछि गुणस्तरीय शिक्षाका लागि निजी शैक्षिक संस्थामा जानुपर्छ भन्ने मान्यतामा रहेका विद्यार्थी र अभिभावकहरूले धेरै राहत पाउने अपेक्षा गरिएको छ। विद्यालय मर्ज भएपछि विगतको नतिजा निकाल्न चुनौतीपूर्ण रहेको भएपनि त्यसलाई आफूहरूले अवसरको रूपमा लिएको प्रधानाध्यापक पाठकले बताए।
अहिलेसम्म मानवज्ञानमै अध्ययन गरिरहेका विद्यार्थीहरूको नतिजा समेत एकवर्ष भित्रै परिवर्तन हुने गरी आफूहरू लागेको पाठकले दाबी गरे। ‘हामी कालिका माध्यमिक विद्यालयकै स्तरमा पुर्याउने छौं’ पाठकले सेतोपाटीसँग भने।
रुपन्देहीमा केही वर्षयता निजी शिक्षण संस्थाहरूको बढ्दो दवदवालाई कालिका माध्यमिक विद्यालयसँगै शान्तिनमूना माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नविन औद्योगिक कद्दर बहादुर रिता माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय लगायतले तोड्न सफल भएका छन्।
एसईई २०७३ मा नेपालभरिका ३० हजार सामुदायिक विद्यालयलाई पछि पार्दै कालिका मावि साधारण/प्राविधिक विद्यालयतर्फ नेपाल प्रथम भई राष्ट्रिय ध्वजा र शिल्ड प्राप्त गरिसकेको छ।
कक्षा ८ देखि १२ सम्म पढाइ हुने प्राविधिक समूहतर्फ समेत विद्यालय लगातार तेस्रो पटक एसईई परीक्षामा प्रथम भएको छ। लगातार तेस्रो वर्षसम्म प्राविधिकतर्फ प्रथम भएको कालिका माविलाई शिक्षा मन्त्रालयले शिल्ड र ध्वजा प्रदान गरेको छ। कालिकाले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कूल अवार्ड समेत पाइसकेको छ।