तुलसीपुरको व्यस्त बसपार्कको अटो भिलेजलाई पातुखोलामा स्थान्तरण गर्ने तयारी भइरहेको छ। अटो भिलजको काम बसपार्कमा हुँदा ध्वनी प्रदुषण लगाएत बजार व्यवस्थापनमा चुनौति थपिएको भन्दै अटो भिलेजलाई पातुखोलाको बगरमा सार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ।
तुलसीपुरलाई व्यवस्थित र नमुना योग्य सहरका रुपमा विकास गर्न बजार र बसपार्क क्षेत्रमा रहेका अटो व्यवसायीहरुलाई एकै ठाउँमा राख्नको लागि नयाँ अटो भिलेज निर्माण कार्य सुरु गरिएको मेयर घनश्याम पाण्डेले बताए। तुलसीपुरमा हाल रहेको बसपार्कको झन्डै चार पाँचसय मिटर दक्षिण तर्फको पातुखोलामा नयाँ अटो भिलेज निर्माण गर्न लागिएको हो। उपमहानगरपालिका वडा नं. ६ र वडा नं. ९ मा अटो भिलेज निर्माण गर्न लागिएको र पहिलो खण्डमा वडा नं. ९ तर्फ निर्माण कार्य धमाधम चलिरहेको इञ्जिनियर पवन योगीले बताए।
‘पातुखोला पश्चिमको भाग वडा नं. ९ मा पर्छ भने पातुखोला पूर्व तर्फ तुलसीपुर सुकौरा सडक खण्ड छेउको भाग वडा नं. ६ मा पर्छ,’ योगीले भने, ‘पहिलो चरणमा वडा नं. ९ मा रहेको साढे ३ विगाहा क्षेत्रफलमा अटोभिलेज निर्माणको लागि धमाधम काम भइरहेको छ। दोस्रो खण्डमा साढे २ विगाहा क्षेत्रफलमा रहेको खोलाको पूर्व तर्फको किनारमा अटो भिलेज निर्माणको काम हुनेछ।’
पहिलो चरणको काम ४० लाखको लागतमा निर्माण हुने उनले बताए। त्यसमध्ये, २० लाख अटो व्यवसायिहरुले जम्मा गरेका छन् भने थप २० लाख उपमहानगरपालिकाले लगानी गर्ने भएको छ। पछि भाडामा मिलाउने गरि अटो व्यवसायी वाट रकम जम्मा गरिएको जानकारी दिइएइको छ। अटो भिलेज निर्माणका लागि पातुखोला पश्चिममा चारसय मिटर लम्वाईमा पातुखोलाबाट संरक्षणको लागि धमाधम तारजाली लगाउने काम भइरहेको योगीले बताए।
‘पूर्वभागमा निर्माण गर्दा समान दुरीमा चार सय मिटरमै खोलावाट संरक्षणको लागि ताराजाली लगाइनेछ। खोलाको सतहदेखि साढे २ मिटर अग्लो र जमिन मुनी एक मिटर गहिरो तटवन्ध निर्माण गरेर अटो भिलेज सुरक्षित राखिनेछ,’ उनले भने, ‘काम सुरु भएको १५÷२० दिन भइसक्यो। अबको एक महिना भित्रै काम सक्ने सम्झौता भएको छ।’
अटो व्यवस्थापनको प्रयासले हामी खुसी छौं – अध्यक्ष महतराराप्ती अटो इञ्जिनेरिङ अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महतराले अटो व्यवस्थापन गर्न उपमहानगरपालिकाले पछिल्लो समय चालेको कदम स्वागत योग्य भएको बताएका छन्। तुलसीपुर उपमहानगरलाई नमुना योग्य बनाउनका लागि अटो भिलेज व्यवस्थापन गर्न आवश्यक रहेको हुँदा यसले आफूहरु खुसी भएको अध्यक्ष महतराले बताए। अटो व्यवसाय बाट चर्कौ ध्वनी प्रदुशन उत्पन्न हुने तथा फलाम जन्य किला काँटी तथा कडा पदार्थ जस्ता फोहर उत्पन्न हुने हुँदा बस्तीदेखि टाढा अटो भिलेज निर्माण गर्नु उपयुक्त पर्ने अध्यक्ष महतराले बताए। तुलसीपुरमा एक सय २५ जना दर्ता भएका अटो व्यवसायी रहेको भएपनि कुल दुईसयको हाराहारीमा अटो व्यवसायी रहेको हँुदा सबैलाई एकै ठाउँमा ल्याउनु उपयुक्त मान्नु पर्ने उनको तर्क छ। उपमहानगरले अटो भिलेज निर्माणाधिन क्षेत्रमा प्रति मिटर एकसय ६० रुपैंयाको दरले भाडा लिने सहमति भएको भन्दै उनले मोटा मोटी एउटा सटरको भाडा मासिक एक हजार पर्न जाने भएको हुँदा सस्तो पर्न बताए।
चुनौति के कस्ता छन्?तुलसीपुरको वडा नं. ९ र ६ को पातुखोलाको बगरमा नयाँ अटो भिलेज निर्माण गर्न थालिएको छ। खोला वारी र पारी गरि झन्डै ६ विगाहा क्षेत्रफलमा उक्त अटो भिलेज निर्माणको तयारी भइरहेको छ। तर यो कार्य त्यति सजिलो भने देखिदैँन किनकि वारपार गर्नलाई पातुखोलामा अझैं पुल निर्माण गरिएको छैन। पातुखोलाको वरीपरी संरक्षण गर्न झन्डै ३ करोड र पुल निर्माण गर्न थप ४ करोड लाग्ने अनुमान गरिएको छ। ७ करोड बजेट कहाँबाट ल्याउने भन्ने चुनौति उपमहानगरलाई छ।
त्यस्तै, नयाँ अटोभिलेज निर्माणाधिन स्थलमा विजुली बत्ति र खानेपानी केही छैन। विजुली बत्ति विना र पानी विना अटो भिलेज सञ्चालन तथसा व्यवस्थापन गर्न असंभव प्राय छ। अटोभिलेजमा टुटेफुटेका साधनको निर्माण वल्डिङ मार्फत गरिन्छ र त्यो विजुली बत्ति विना संभव नहुने राप्ती अटो ईन्जिनेरिङ अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महरा बताउँछन्। त्यसका लागि अटो भिलेज क्षेत्रमा एउटा नयाँ ट्रान्सफर्मर जडान गर्न जरुरी रहेको अध्यक्ष महतराले बताए। त्यस्तै, अर्काे प्रमुख समस्या भनेको निर्मानाधिन अटो भलेजमा आवात जावात गर्न बाटोपनि राम्रो छैन। पुलपारीवाट पश्चिम तर्फको अटो भिलेजमा जाँदापनि बाटो साँघुरो तथा कच्ची छ। केही घरहरु तत्काल धप्काउनुपर्ने अवस्था रहेको अध्यक्ष महतरा बताउँछन्।
खानेपानीको समस्या समाधानका लागि भने वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकालले एकसय वटा धारा अटो भिलेजका लागि उपलब्ध गराउन सक्ने आश्वासने दिएको अध्यक्ष महतराले बताए। अध्यक्ष ढकालले हालसालै अश्वारा खानेपानीवाट ८५० धारा वितरणको तयारी गरेको र त्यसमध्यबाट एकसय धारा उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको अध्यक्ष महतराले जानकारी दिए। त्यस्तै, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले पनि पूर्व तर्फको अटो भिलेज व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष महतराले बताए। पातुखोला पारी पश्चिम क्षेत्रको वडा नं. ९ मा निर्माण कार्य गर्ने र पूर्व तर्फ वडा नं. ६मा पाट पूर्जाको विक्रि वितरण तथा निर्माण कार्य गर्ने गरि अटो भिलेज व्यवस्थापन गर्ने तयारी भइरहेको छ। तर पूर्व तर्फ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा गाउँको मौजाको लागि सिंचाई कुलो पर्ने हुँदा त्यसको लागि नहर निर्माण तथा व्यवस्थापन गर्नुपर्ने अर्काै समस्या रहेको छ।