माघ २९ गते बिहान ५ बजे ललितपुरको थसिलेलमा बा २ ख ३६०६ नम्बरको बसले दोलखाका फुरनाङ शेर्पालाई ठक्कर दियो। बसको ठक्करबाट शेर्पाको घटनास्थलमै मृत्यु भयो।
भक्तपुरबाट कंलकीतर्फ जाँदै गरेको उक्त बस शेर्पालाई ठक्कर दिएर भागेको थियो। ठक्कर दिने सो बस नियन्त्रणमा लिन प्रहरीलाई निकै मुस्किल भयो।
प्रहरीले रिङरोडमा चल्ने सम्पूर्ण बसलाई भेला पारेर अनुसन्धान गर्यो तर पनि लामो समयसम्म कुरा पत्ता लगाउन सकेन।
प्रहरीले अनुसन्धान जारी राख्यो र अन्तत: बस पत्ता लगायो। त्यतिन्जेलमा ठक्कर दिने चालकले उक्त गाडी चलाउन छोडिसकेका थिए। उनी बस छोडेर काभ्रेतिर डोजर चलाउन थालेका रहेछन्। फागुन ११ गते काभ्रेबाटै पक्राउ गरेर प्रहरीले उनलाई कारवाही अघि बढाएको छ।
माघ २३ राति ११ बजे सातदोबाटो चोकमा नम्बर नखुलेको टिपरले सप्तरीका ४० वर्षीय भलवीर चौधरीलाई ठक्कर दियो। चौधरीको घटनास्थलमै मृत्यु भयो। ठक्कर दिने टिपर अहिलेसम्म फरार छ। प्रहरीले उक्त टिपरका बारेमा खोजी जारी राखेको छ।
माघमै ग्वार्को चोकमा एक युवतीलाई ठक्कर दिएर भाग्ने ट्रक अहिलेसम्म पनि फरार छ।
ग्वार्को र थसिखेलमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिएको थियो भने सातदोबाटोमा सडक छेउ हिँडिरहेका व्यक्तिलाई टिपरले ठक्कर दिएको थियो।
कोटेश्वरदेखि बल्खुसम्म ८ लेनको चक्रपथ विस्तार लगभग सकिएको छ। सडक विस्तार भएपछि रिङरोडमा मुख्यत: राति र बिहान खाली बाटोमा गाडी तीव्र गतिमा हुँइकिन थालेको ट्राफिक प्रहरीले जनाएको छ। सडक विस्तार भएको खण्डमा मानिसले बाटो काट्ने जेब्राक्रस निर्माण भएको छैन, त्यसले बटुवाहरूको असुरक्षा झनै बढाएको छ।
गत साउनयता यो सडक खण्डमा मात्रै गाडीको ठक्करले मृत्यु हुनेको संख्या ६ पुगिसकेको छ। प्रहरीले छ नै जना चालकलाई सवारी ज्यान मुद्दा चलाएको छ।
बाटोमा रातिको समयमा धेरै सवारी दुर्घटना हुने र ठक्कर दिएर सवारीसाधन भाग्ने क्रम बढेपछि फागुनदेखि राति गुड्ने चारपांग्रे सवारी साधनको विवरण राख्न थालेको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी विनोद सिलवालले बताए।
'बाटो हिँड्ने बटुवालाई ठक्कर दिएर सवारीसाधन भाग्न थाले,' सिलवालले भने,‘ठक्कर दिने सवारीसाधनलाई तत्काल नियन्त्रणमा लिन नसकिए पनि कुन समयमा कुन सवारी साधनले ठक्कर दिएको हो अनुसन्धान गर्न सजिलो हुन्छ भनेर चेकिङ थालिएको हो।'
चक्रपथको कोटेश्वर-कलंकी खण्डमा राति १० बजेदेखि बिहान ५ बजे सम्म गुड्ने सवारी साधनलाई रोकेर विवरण राख्ने गरिएको सिलवालले जानकारी दिए।
सिलवालका अनुसार कोटेश्वरबाट साटोबाटोतर्फ आउने सवारीसाधनलाई बालकुमारी पुलमा र कंलकीबाट सातदोबाटोतर्फ आउने सवारीसाधनलाई बल्खुमा इन्ट्री गरिन्छ।
त्यसैगरी बीचबाटोबाट आउने सवारीसाधनलाई पनि सातदोबाटो तथा महालक्ष्मीस्थानमा इन्ट्री गरिन्छ।
प्रहरी चेकिङमा चालकले गाडीबाट उत्रिएर आफ्नो नाम, गाडी नम्बर, चालकको फोन नम्बर र समय टिपाउनु पर्छ।
यसरी सवारी साधन र चालकको विवरण राख्न थालेपछि यो सडक खण्डमा दुर्घटना घट्न थालेको डिएसपी सिलवालले बताए।
‘संयोग कस्तो परेको छ भने, हामीले विवरण राख्न थालेपछि रातको समयमा एउटै दुर्घटना भएको छैन,' सिलवालले भने।