प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गोरखाको अजिरकोट गाउँपालिका ४ सिम्जुङस्थित हिमालय माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
लायन्स क्लब अफ गोरखाको समन्वयमा लायन्स क्लब अफ इन्टरनेशनलको दुई करोड २० लाख बजेटले १६ कोठे दुई तले भवन निर्माण भएको हो। यो भवन भूकम्प प्रतिरोधी छ।
पुनर्निर्माण सकिएको सो विद्यालय भवन बुधबार प्रधानसेनापति क्षेत्री र प्रदेश ४ का सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका थिए। टहरोमा बसेर पढ्नुपर्ने बाध्यता भवन बनेपछि हटेको विद्यालयले जनाएको छ।
१२ वैशाख ०७२ को भूकम्पले यो विद्यालयको भवन ध्वस्त बनाएको थियो। भवन उद्घाटन गर्दै प्रधानसेनापति क्षेत्रीले विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको सो क्षेत्रका सांसद दवाडीले जानकारी दिए।