गत फागुन ३० गते राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामाबाट बरामद पेस्तोल आफ्नो नभएको प्रहरीमा बयान दिएका छन्।
६ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ परेका लामाले सुरूदेखि पेस्तोल आफ्नो नभएको दाबी गर्दै आएका छन्।
लामा विरुद्ध काठमाडौं प्रहरीले हातहतियार खरखजनामा मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको छ।
महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका लामाले हतियार आफ्नो नभएको बयान दिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।
उनका अनुसार लामाले आफूलाई गोली हान्ने युवाको हातबाट पेस्तोल खोसेको दाबी गरेका छन्।
प्रहरी बयानमा लामाले भनेका छन्, ‘एक जना युवा गोली हान्न मतिर आउँदै थिए, मैले त्यो देखेँ हतियार खोस्दा भूईमा झर्यो, त्यही बेला एक राउण्ड फायर समेत भयो, मलाई गोली हान्ने युवा भाग्यो, हतियार भूईबाट भर्खर टिपेको थिएँ प्रहरी आएको हो।’
उनले हतियार आफ्नो नभएको भन्दै गोली हान्न आउने युवाको हुलिया समेत प्रहरी बयानमा उल्लेख गरेको डिएसपी थापाले जानकारी दिए।
लामाबाट बरामद पेस्तोल परीक्षण गर्न प्रयोगशाला पठाएको भन्दै प्रवक्ता थापाले रिर्पोट आएपछि बयानका साथमा राखी मुद्दा जिल्ला प्रशासन कार्यालयमा बुझाउने जानकारी दिए।
लामालाई भेट्न पूर्व सांसददेखि स्थानीयवासीसम्म करिब १ सातादेखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका लामालाई भेट्न काभ्रेका पूर्वसांसद तीर्थ लामादेखि गाउँपालिका अध्यक्षसम्म टेकु पुग्ने गरेका छन्।
प्रहरी हिरासत कक्षको सुरक्षामा खटिएका एक प्रहरीका अनुसार लामालाई भेट्न मात्र दैनिक ४०,५० जना आउने गरेका छन्।
सेतोपाटीसँग कुरा गर्दै ती प्रहरीले भने, ‘लामालाई भेट्न आउनेहरूले हैरान पारिसके, भेट्न नदिन पनि भएन, भेट्न आउनेको दिनभरी लर्को लाग्ने गर्छ, अस्ति त पूर्व सांसद र हिजो गाँउपालिका अध्यक्ष समेत आएका थिए।
लामा पक्राउ परेपछि बनेपामा भएको विरोधमा प्रहरीले दमन गरेको रिर्पोटिङ लामालाई गर्ने गरेको ती प्रहरीले जनाए।