बिहिबारदेखि सुरू भएको एसईई परीक्षामा कास्कीमा सुस्त श्रवण र दृष्टिविहीन गरी १७ जना अपाङ्ग परीक्षार्थी माध्यमिक शिक्षा एसईई परीक्षामा सहभागी भएका छन्।
अमरसिंह मावि अमरसिंहबाट ९ जना तथा जनप्रकाश मावि भण्ढार ढिकबाट ३ जना दृष्टिविहीन गरी ११ जना सहभागी दृष्टिविहिन र ६ जना सुस्त श्रवणमा भएका विद्यार्थी सहभागी भएका छन्।
बाल सुधार गृह सराङ्कोटबाट ४ जना सहभागी भएको जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले जानकारी दिए। परीक्षामा कास्कीका सामुदायिक १ सय १८ र संस्थागत १ सय ७९ विद्यालयका १० हजार ५ सय ५२ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन्। पहिलो दिन १ सय ६ जना परीक्षार्थी अनुपस्थित भएको पौडेलले बताए।
परीक्षामा विभिन्न कागजात तथा उमेर नपुगेका कारण एक सय १७ जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएको उनले बताए। बिहिबार बिहान ८ बजेबाट सुरू भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। परीक्षाका लागि कास्कीमा ३१ वटा केन्द्र तोकिएको छ। परीक्षामा ३१ केन्द्राध्यक्ष, ५० जना साहायक केन्द्रअध्यक्ष, २ सय ३३ कार्यालय सहयोगी र २ सय २५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसैगरी, प्रदेश ४ बाट एसईई परीक्षामा ४८ हजार ९ सय ५४ विद्यार्थी सहभागी भएका छन्।