आफ्नै साथीको हत्या गरेको अभियोगमा झापाका ३ जना युवालाई काठमाडौं महानगरीय प्रहरी वृत्तले आज बिहान काठमाडौंबाट पक्राउ गरेको छ।
महानगरपालिका वडा नम्बर १० देवीनगरमा डेरामा बस्दै आएका सर्लाही घर भएका २१ वर्षीय पुरुषोत्तम सेढाईंको हत्या भएको हो। हत्या आरोपमा झापाको शिवसताक्षी नगरपालिका दुधेका ३ जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कोटेश्वरका प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिए।
झापा शिवसताक्षी ११ दुधेका का १९ वर्षीय रोहित चौधरी सोही वडाका २५ वर्षीय संजिव राई र शिवसताक्षी ९ कै २२ वर्षीय अशोक लिम्वु पक्राउ परेको कोटेश्वर प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धानका लागि कोटेश्वर प्रहरी वृत्तमा उनीहरूलाई राखेको छ। गए राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेढाईंको हत्या भएको थियो। हत्या भएका सेढाईं र पक्राउ परेका युवाबीच के विषयमा विवाद भएको थियो भन्ने बारेमा प्रहरीले केही बताउन चाहेको छैन।
प्रहरी श्रोतका अनसार हत्या भएका सेढाईं र पक्राउ परेका तीनै जना साथी हुन्। महानगर १० स्थित देवी नगरको एउटै घरको अलग अलग कोठामा उनीहरु बहालमा बस्दै आएका थिए।