प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका सर्लाहीका उमेश पासवान पक्राउ परेका छन्।
तराईका विभिन्न जिल्लामा ज्यान मार्नेदेखि लुटपाट घटनाका मुख्य अभियुक्त सर्लाही लालबन्दीका ४५ वर्षीय पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिपुरको सयुक्त टोलीले मंगलबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका राजेश थापा, सई राजेश यादव र ईलाका प्रहरी कार्यालय हरीपुरका प्रहरी निरिक्षक अनिल ठकुरीको टोलीले पासवानलाई पक्राउ गरेको हो।
पक्राउ परेका पासवानलाई बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको छ।
प्रहरीले विभिन्न अपराधमा पासवान विरुद्ध सिरहा, सर्लाही, रुपन्देही लगायतका जिल्ला अदालतमा ७ ओटा मुद्दा दायर गरेको छ।
खुन डाँका तथा संगठित अपराध, हाातहतियार, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरीका घटनामा प्रहरीले पासवान विरुद्ध मुद्दा दायर गरेको थियो।
प्रशासन कार्यालय सिरहाबाट हातहतियार मुद्दामा पक्राउ पुजी जारी भएको थियो भने रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी मुद्दामा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।
त्यस्तैगरी, जिल्ला अदालत सिराहबाट खुन डाँकामा पासवान विरुद्ध मुद्दा दायर भएर पक्राउ पुर्जी जारी भएको पनि प्रहरीले जनाएको छ।