राजधानी काठमाडौंसँग तराई जोड्ने लाइफलाइनका रूपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ। कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ। समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ। पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर सम्पन्न भएको छ। दोस्रो तह २०.५ किलोमिटर र तेस्रो तहको कालोपत्रे सुरूवात गरिएको छ ।
खनालका अनुसार सो सडक ३३.२ किलोमिटर लामो छ।
आगामी वैशाख १५ सम्ममा पहिलो तह र जेठ १५ सम्ममा पहाड काट्न बाँकी रहेको चेपाङ डाँडाको फेदको ५०० मिटरबाहेक अन्य क्षेत्रमा कालोपत्रे सम्पन्न हुने उनले बताए। सुरूमा ५.५ मिटरमात्रै फराकिलो रहेको सडक आठ मिटरसम्म फराकिलो भए पनि नौ मिटर पुर्याउन धेरै भित्तो काट्नु पर्ने भएकाले समयमा सम्पन्न हुन कठिन देखिएको छ।
आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले तेस्रो खण्डलाई ९९ दिन, दोस्रो खण्डलाई ८९ दिन र पहिलो खण्डलाई ८५ दिन मिति थप्न उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए। पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको हो।
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो। लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात बढी भएका कारण समय थप गरिँदै आएको थियो। विसं २०७४ सुरू भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न सिफारिस गरिएको हो। मिति थप गर्न सिफरिस भए पनि हालसम्म मिति भने थपिएको छैन।रासस