तुलसीपुर उपमहानगरपालिकाले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन डोजर चलाएको छ।
सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्याङ, होर्डिङ बोर्ड र अन्य संरचना हटाउन मंगलबारदेखि उपमहानगरपालिकाले डोजर चलाएको हो। मेयर घनश्याम पाण्डेले नगरलाई हराभरा, सुरक्षित र व्यवस्थित गर्ने अभियान अन्तरगत अतिक्रमण गरी निर्मित संरचना हटाउन सुरू गरिएको सेतोपाटीलाई बताए।
उपमहागनरपालिकाले विगत तीन महिनादेखि सार्वजनिक सूचनामार्फत सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन आग्रह गर्दै आएको थियो।
‘हाम्रा आग्रहलाई बेवास्ता गर्ने र अटेरी गर्नेहरूका विरुद्ध हामी डोजर चलाउन बाध्य भएका हौं,’ मेयर पाण्डेले भने।
उनले बजारलाई कुरुप देखाउने गरी निर्मित होर्डिङ बोर्डदेखि सम्पूर्ण सामग्री तत्काल हटाउने बताए। उनले सडक पेटी अतिक्रमण गरी निर्मित संरचना हटाउन अटेर गर्नेहरू, सडक पटी ओगटेर व्यापार गर्नेहरू र मनपरी फोहर गर्नेहरूलाई आर्थिक जरिवानाका साथै कानूनी कारवाही थाल्ने चेतावनी दिएका छन्।
मेयर पाण्डे आफैँ अतिक्रमण गरी निर्मित संरचना हटाउन अभियानमा सहभागी थिए। जहाँ, तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी र सरोकारवालाहरूको समेत बाक्लो उपस्थिति थियो। उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले तलसीपुरको मुख्य बजार क्षेत्रमै झन्डै दुई दर्जनको हाराहारीमा सडक पेटी अतिक्रमण गरी निर्मित फलामे भर्याङहरू रहेको बताए।