दाङको बबई नदीमा डुबेर एक जना विद्यार्थीको मृत्यु भएको छ।
शान्तिनगर गाउँपालिका २ निवासी २३ वर्षीय भरत खड्काको बबईमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बबई गाउँपालिका वडा नम्बर ५ झरनास्थित बबई नदीमा नुहाउने क्रममा डुबेर खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हापुरेका रेशम सुनारले जानकारी दिए।
गत दशैंमा भैलो खेलेको पैसाबाट साथीहरूसँगै पिकनिक खान गएका खड्का नुहाउने क्रममा बबईमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रुकुमका स्थायी बासिन्दा खड्का हाल अध्ययनका लागि दाङमा बस्दै आएका थिए। तर हालसम्म रुकुममा खड्काको घरको ठेगाना भने खुन्न नसकेको प्रहरीले जानकारी दिएको छ।
हापुरे निवासी झुपु बुढाथोकीका अनुसार खड्का तुलसीपुरको एक क्याम्पसमा बिबिएसमा अध्ययनरत विद्यार्थी हुन्। सोमबार १२ बजे पानीमा डुबेका खड्काको शव दिउँसो साढे २ बजेतिर निकाल्न संभव भएको जानकारी दिइएको छ ।