तुलसीपुर उपमहानगरपालिले सडक अतिक्रमण गरी निर्माण गरिएका भर्याङ हटाउन सुरू गरेको छ।
आइतबारको उपमहानगरपालिकामा बसेको सरोकारवालासहितको बैठकले मंगलबारदेखि सडकपेटी अतिक्रमण गरी निर्मित निजी घरका भर्याङ हटाउने निर्णय गरेको थियो। उपमहानगरले त्यस्तो निर्णय गरेको दोस्रो दिनमै घरधनीहरूले सडक अतिक्रमण गरी निर्मित भर्याङ आफैँ हटाउन सुरू गरेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को ‘ख’ लाइन निवासी बसन्त अधिकारीले सोमबार आफैँ आफ्नो भर्याङ हटाउन थालेका छन्।
उपमहानगर मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि सडकपेटी मिचेर निर्मित भर्याङ हटाउने काम अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिएको थियो। उक्त निर्णय भएलगत्तै सडक पेटी मिचेर निर्मित भर्याङहरू हटाउन स्थानीयले सुरू गरेका हुन्।
मेयर पाण्डेले कर्मचारीलाई अटेर गर्ने घर धनीलाई मेसिन लगाएर भएपनि त्यस्ता भर्याङ हटाउन निर्देशन दिएका थिए। बजार व्यवस्थापन कार्यविधि २०७४ लाई टेकेर उक्त कामलाई अगाडि बढाइएको मेयर पाण्डेले बताए।
त्यस्तै, प्रत्येक मंगलबार तुलसीपुरमा सञ्चालन हुँदै आएको ‘ग्रिन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानलाई प्रभावकारी बनाउन फोहर गर्नेहरूलाई ठाउँका ठाउँ कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रत्येक हप्ता बजारबाट निस्किएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै नगर प्रमुख पाण्डेले जनतलाई अनुभूति हुने गरी काम गर्न एक्सनमा उत्रने बताए। उपमहानगरपालिकाले पसल अगाडि फोहर गर्ने, फोहर थुपार्ने, निर्माण सामग्री राख्ने, सडकपेटीसम्म सामान राख्नेलाई जरिवाना गर्ने निर्णय गरेको समाजकल्याण अधिकृत टोपबहादुर डाँगीले बताए।
सार्वजनिक सूचना जारी गरेर दैनिक रूपमा सडकपेटी मिचेर व्यवसाय नगर्न/नगराउन र अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह गर्दै आएको भएपनि त्यसको धेरैले वास्ता गरेका छैनन्।