म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैध धन्दा मौलाउँदै गएको छ। छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ।
गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ। मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर र जग्गा नै सखाप भएको छ। मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन्। एकै जनाले एक करोड रुपैयाँदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन्। ‘मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ’, पीडित निरु खत्रीले भने – भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ।’
कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ। दैनिक एक/दुई जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताए। ‘सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुपर्यो भनेर रुँदै आउँछन्’, न्यौपानेले भने, ‘छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ। लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौँ।’
मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ। पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन्। दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन्। मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन्। पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन्। मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पुरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुली गर्ने गर्छन्।
बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन्। सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन्। विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताए। यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन्। वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ। मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रूपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन्।
सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी गर्यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए। ‘ठगीको मुद्दाका रूपमा प्रहरीमा आउँछन्, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ’, गुरुङले भने। लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ। स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन्। चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन्।
जिल्ला अदालत म्याग्दीमा आव २०७३/७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकामा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो। चालू आवको साउनदेखि हालसम्म लेनदेन सम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ। सदरमुकाम बेनीबजारभित्र मिटर ब्याजको धन्दा चलाउने सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताइन्। ‘तमसुक, भरपाई बिनै लाखौँको लेनदेन गरेका छन्’, उपप्रमुख बरुवालले भनिन्, ‘आधार प्रमाण नहुँदा पीडित कानूनी प्रक्रियामा जान सकेका छैनन्।’
नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख बरुवालले जानकारी दिइन्। मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रूपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ। मानिस बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पर्ने गरेको छ।
यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ। मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रूप लिएको देखिएको छ। परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरू पनि भेटिएका छन्।रासस