चितवनका एक चेपाङ युवाले प्यारामोटर उडाएका छन्।
चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङले आफैँले निर्माण गरेको प्यारामोटर उडाएका हुन्। स्थानीय स्रोत/साधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर उनले आइतबार राप्ती नदीको बगरमा उडाएर परीक्षण गरेका छन्।
यसअघि २ पटकसम्म उडानको प्रयास गर्दा हावाको प्रभावले प्यारामोटर उडाउन नसकेका सरोजले आज भने सफतापूर्वक प्यारामोटर उडाएका हुन्। सामान्य परिवारका २० वर्षका सरोजले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरेका थिए। ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले १ महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरेको हुन्। प्यारामोटर निर्माण गर्न १ सय ४९ सीसीको मोटरसाइलको एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच,ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरेको उनले बताएका छन्।
चेपाङले बनाएको प्यारामोटरमा ३ वटा चक्का समेत भएकोले प्यारासुट नहाली सडकमा गुडाउन सकिनेछ। सरोजले २ जना चड्न मिल्ने मिनी एयरक्राफ्ट समेत निर्माण गरिरहेका छन्। तर आर्थिक अभावको कारण इन्जिन खरिद गर्न नसक्दा उनले त्यसलाई पूर्णता दिन नसकेको आमा लिला प्रजाले बताइन्।
मिनी एयर एयरक्राफ्ट निर्माण गर्न हालसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिइन्। मिनी एयर एयरक्राफ्ट निर्माण गरिरहेको हेर्न धेरै मानिसहरू आएका र यो बन्दैन, उडाउन सक्दैन भन्ने जस्ता नकारात्मक कुरा गर्ने गरेकाले उनीहरूलाई विश्वास दिलाउन पनि मिनी एयरक्राफ्ट भन्दा पहिला प्यारामोटर बनाएर उडाउने सोचका साथ प्यारामोटर निर्माण गरेर उडाएको सरोजले बताए।
परीक्षण स्वरुप उडाएको प्यारामोटरलाई सरोजले करिब ४० मिनेटसम्म आकाशमै घुमाएका थिए। उनको उक्त परीक्षण हेर्न राप्ती नदीको बगरमा स्थानीयहरूको भीड लागेको थियो। सफलतापूर्वक प्यारामोटर उडाएपछि उनलाई स्थानीयले फुलामाला र अबिर लगाएर बधाई दिएका थिए।