१ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रदेश नम्बर ४ मनाङका प्रदेश सभा सदस्य राजीव गरुङ (दीपक मनाङे) हेटौंडामा रहेको प्रहरीले सूचना पायो।
उक्त सूचनासँगै प्रहरीले मनाङेले प्रयोग गर्ने टेलिफोन नम्बर पनि पत्ता लगायो र उक्त नम्बरको लोकेसन हेर्दा हेटौंडाकै एक घरमा देखायो।
उक्त लोकेसनका आधारमा मनाङेलाई पक्राउ गर्न महानगरीय अपराध महाशाखाको एक टोली गत साता हेटौंडा प्रस्थान गर्यो।
मनाङे पक्राउ गर्न भन्दै ठिक्क परेर हेटौंडा पुगेको महाशाखाको टोलीले उक्त लोकेसन देखाएको घरको पहिचानतर्फ लाग्यो र पत्ता पनि लगायो।
मनाङेको ससुराली हेटौंडा नै हो। प्रहरीले पत्ता लगएको लोकेसन अनुसारको घर उनका आफन्तकै परेछ। प्रहरी झनै ढुक्क भयो। प्रहरीले उक्त घर सर्च गर्यो मनाङे भने भेटिएनन्। फेरि, पनि उनको लोकेसन त्यही नै देखाएपछि प्रहरी हैरान भयो।
कोठा कोठामा खोज्दै जाँदा मनाङे हैन मनाङेले प्रयोग गर्दै आएको पछिल्लो फोन भेटियो जुन फोन नम्बरकै आधारमा प्रहरी त्यहाँसम्म पुगेको थियो।
प्रहरी स्रोतका अनुसार मनाङे मोबाइल भएको घरमा बास बस्थेनन्, उनी अर्कै घरमा बस्थे तर मोबाइल भने त्यहाँ राख्थे।
उनले प्रहरीलाई झुक्याउनकै लागि यस्तो गरेको प्रहरीले जनाएको छ। लोकेसन हेरेर प्रहरीले ठाँउ पत्ता लगाएपछि आफू भने सुरक्षित रहने जुक्ति लगाएर मनाङे फोन एक घरमा राखेर आफू अर्कै घरमा बस्दै आएका थिए।
‘फोन गर्न परेमा उनी उक्त ठाँउमा आउने गरेका रहेछन्’,स्रोतले भन्यो, ‘फोन सकेर उनी नजिकै अर्कै घरमा बस्ने गरेका रहेछन्, त्यो कुरा मोबाइल बरामदपछि खुल्यो अहिले त उनले हेटौंडा छाडिसकेको खबर छ।’
फरार मनाङेलाई पक्राउ गर्न नेपाल प्रहरीको तीन टोली परिचालित छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय र काठमाडौं परिसरको टोली छुट्टा छुट्टै मनाङेलाई खोजी गर्दै आएको छ। फरार मनाङेको खोजी जारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी विपेश लोहनीले बताए।
‘मनाङे फरार अभियुक्त हुन्। उनी भागेर कति दिन बस्ने? उनको खोजीमा प्रहरी जुटेको छ, पक्राउ पर्छन् नै’, उनले भने।
२०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।
तर,लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो।
२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। सोही मुद्दामा घटनामा संलग्न अन्य अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।