प्रहरीले अवैध रुपमा संकलन गरेका राखेका १ सय ३५ वटा पासपोर्टसहित ४ जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखा र वैदेशिक रोजगार विभागको टोलीले काठमाडौंको बालाजुमा रहेको सरल वैदेशिक रोजगार परामर्श केन्द्रमा छापा मारेर १ सय ३५ वटा पासपोर्ट बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए।
प्रहरीले केन्द्रका संचालक कृष्ण केसी भन्ने टोपबहादुर महतसहितका ४ जनालाई नियन्त्रणमा लिएको छ।
महतले खोलेको उक्त संस्था अवैध रहेको एसएसपी लोहनीले बताए।
'महतले खोलेको संस्था कहि कतै दर्ता छैन्' लोहनीले भने, 'वैदेशिक रोजगारीमा जान लागेका युवाहरुको पासपोर्ट अवैध रुपमा संकलन गरेपछि छापा मारेका हौं।'
महतले युवायुवतीबाट पासपोर्ट संकलन गरेर विभिन्न म्यानपावर कम्पनीमा बुझाएर कमिसन लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।