रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरकी स्मृति सुनार पछिल्लो दुई महिना विद्यालयमा उपस्थित भइनन्। तिलोत्तमा १ ड्राईभर टोल स्थित प्रगति प्राविमा कक्षा ५ की एक्ली विद्यार्थी स्मृति हजुरआमाको मृत्यु भएपछि गुल्मी गइन्।
स्मृतिले दुई महिना गुल्मीमै बिताएपछि शिक्षकहरूलाई कक्षा ५ को कोर्ष पढाउनुपर्ने बाध्यता पनि टर्यो। गत फागुन २७ गतेदेखि सुरू भएको वार्षिक परीक्षा दिन पनि उनी आइनन्। कक्षा पाँचमा उनी एक्लो भर्ना भएपछि विद्यालयले चार कक्षा मै राखेर पढाउने गरेको थियो।
कक्षा दुईमा यसवर्ष एकजना विद्यार्थी पनि भर्ना हुन आएनन्। अघिल्लो वर्ष पनि कक्षा ५ मा १ जना विद्यार्थी भर्ना भएका थिए। दैनिक ज्याला मजदूरी गरी जिविकोपार्जन गर्दै आएका बुवाआमा काम खोज्दै जता जान्छन् स्मृति पनि उतै जान्छिन्। त्यसैले पनि उनको नियमित पठनपाठन हुन सकेन।
कपिलवस्तुको जितपुरकी १२ वर्षकी सुस्मिता सुनार फुर्सद पाए मात्र पढ्नको लागि स्कूल पुग्छिन्। उनी नियमित स्कूल जान पाउँदिनन्। शंकरनगरमै अर्कैको घरमा बसेर भाँडा माझ्ने, कपडा धुने काम गर्ने उनलाई कहिले घरमा पाहुना आउँछन्, कहिले बिरामी हुन्छन्। हेरविचार गर्नुपर्छ।
बिहान उठेदेखि साहुको घरको सरसफाइ गर्नु, भाँडा माझ्ने र कपडा धोएर फुर्सद मिले मात्र उनी विद्यालय पुग्छिन्। विद्यालयबाट फर्किएपछि पनि दिनभरीका भाँडा माझ्ने र सरसफाइ गर्ने उनको तालिका दैनिक दोहोरिन्छ।
आठ वर्षको उमेरदेखि अर्काको घरमा काम गर्न थालेकी उनले चार वर्ष पुग्यो। काम गरेबापत साहुजीले साँझ बिहान खान र बस्न दिन्छन्, विद्यालयको लागि कपि किताब, पोशाक दिन्छन्। पैसा त्यसैमा कटाउँछन्।
स्मृति र सुस्मिता त प्रतिनिधि पात्र मात्र हुन्। प्रगति प्राविमा भर्ना भएकामध्ये कुनै पनि विद्यार्थी छैन। जो नियमित विद्यालय गएको होस्। विद्यालयको तथ्यांक अनुसार ४६ जना विद्यार्थी भर्ना भएको भनिए पनि नियमित कक्षामा हाजिर हुने संख्या कुनै पनि दिन २५ नाघेन।
आक्कल झुक्कल विद्यालय आउने विद्यार्थीमध्ये २५ जना दलित समुदायका छन् भने बाँकी जनजाति। अत्यन्त गरिब तथा विपन्न वर्गका ज्याला मजदूरी गरी खाने वर्गका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा न त स्थानीय समुदायको चासो गएको छ न त अभिभावकको नै। जसले गर्दा हरेक वर्ष थपिनुको साटो विद्यार्थी संख्या घट्दै गएका छन्।
छोराछोरीलाई विद्यालयमा भर्ना गर्दा एक स्थानमा ज्याला मजदूरी गर्नेहरू वार्षिक परिक्षा आइनसक्दै काम खोज्दै अन्यत्र पुगिसक्छन्। बाबुआमासँगै बालबालिका पनि पढाई बीचमै छोडेर जान बाध्य हुन्छन्।
विद्यालयका प्रधानाध्यापक जानुका रेग्मीले कक्षा २ बाहेक नर्सरीदेखि कक्षा पाँचसम्म ४६ जना विद्यार्थी भर्ना भएको बताइरहँदा वार्षिक परीक्षामा भने २६ जना विद्यार्थी मात्र सहभागी थिए।
निशा चौधरी मात्र त्यस्ती छात्रा हुन् जसले अभिभावकको जोडबलमा नर्सरीदेखि ४ कक्षासम्म सोही विद्यालयमा पढ्ने अवसर पाएकी छन्।
अरु कसैले पनि नियमित दुईवर्ष एउटै विद्यालयमा पढ्ने मौका पाएका छैनन्। ज्याला मजदूरी गरेर खाने आमाबावुको कामसँगै उनीहरूको पनि सरुवा हुन्छ।
बोर्डिङ स्कूलको मारमा प्राविहरू
स्थानीय बुद्धिजिवीको जोडबलमा २०४४ सालमा स्थापना भएको यो विद्यालयमा सुरूका केही वर्ष एउटै कक्षामा ५० जना बढी विद्यार्थी भर्ना हुन्थे। कक्षा तीनसम्म मात्र पठनपाठन हुने गरी स्थापना गरिएको विद्यालयमा स्थानीयको माग अनुसार कक्षा ४ र ५ पनि थप भयो।
२०५३ सालदेखि नै शिक्षकको रूपमा अध्यापन गराउँदै आएकी अम्बिका पौडेल निजी बोर्डिङ स्कूलहरू सञ्चालन हुन थालेपछि विद्यालयमा विद्यार्थीहरू घट्दै गएको बताउँछिन्।
‘विद्यालय स्थापना हुँदा निजी बोर्डिङ स्कूल खुलेका थिएनन्। ०५० सालपछि बोर्डिङ स्कूल खुल्ने क्रम बढ्यो। पहिले गाउँमा सामुदायिक विद्यालय ल्याउन अगुवाई गर्नेहरू पछि बोर्डिङ स्कूलका सञ्चालक बन्न थाले’,उनी भन्छिन्।
‘पहिले बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्नेहरूले पछि बोर्डिङ स्कूलतर्फ विद्यार्थी तान्न थाले, अभिभावकहरूलाई पनि साना छोराछोरीलाई प्राइमरी लेबलसम्म भए पनि बोर्डिङ स्कूलमा भर्ना गर्ने रहर जाग्न थाल्यो। जसको मारमा प्रगति प्रावि पनि पर्न थाल्यो।’
अभिभावक र स्थानीयको चासो घट्दै गएपछि विद्यालयले वर्षौं भयो वार्षिकउत्सव, अभिभावक दिवस जस्ता कार्यक्रम आयोजना गर्न छोडेको।
‘कसको लागि मनाउने वार्षिकउत्सव र अभिभावक दिवस ? न त अभिभावक आउनुहुन्छ न त स्थानीय समुदाय नै वार्षिक रिजल्ट तयार गरेर अभिभावकलाई बोलाउँछौं कोही आउँदैनन्। अनि रिजल्ट भित्तामा टाँसेर हिँड्छौं’, प्रधानाध्यापक रेग्मीले पीडा पोखिन्।
चारजना शिक्षक र एकजना कार्यालय सहयोगी रहेको विद्यालयमा पछिल्लो समय कतैबाट आर्थिक स्रोत नजुटेपछि दरबन्दी कटौती हुँदै गएको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएको र शिक्षाको व्यवस्थापनको जिम्मेवारी पनि स्थानीय तहमा आएपछि भने केही आशा जागेको रेग्मी बताउँछिन्।