महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारवाही गरेको छ।
महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारवाही गरेको हो।
जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचौं पटक एक हजार ४९ चालक कारवाहीमा परेका छन्। जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन्। एउटै चालकले पाँच पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए। ‘उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ’, उनले भने।
महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ।रासस