काठमाडौं प्रहरीले विभिन्न अपराध गरेको अभियोगमा फागुन महिनामा ५ हजार १ सय ६ जनालाई पक्राउ गरेको छ।
जसमा प्रहरीले ८ सय २२ जनामाथि मुद्दा दायर गरेको छ भने बाँकीलाई अनुसन्धानपछि सम्झाईबुझाई गरी घर पठाएको छ।
प्रहरीले ४ सय २२ ओटा मुद्दा दायर गरेको हो, जसमा ८ सय २२ जनाको संग्लनता रहेको प्रहरी ठहर छ। काठमाडौं प्रहरीले दायर गरेका मुद्दामा सबैभन्दा बढी सार्वजनिक अपराधका मुद्दा छन्।
प्रहरीले २ सय ९४ ओटा सार्वजनिक अपराधका मुद्दा दायर गरको छ, भने त्यसमा ५ सय ४५ जनालाई विपक्षी बनाइएको छ। त्यसैगरी लागूऔषधमा २७ ओटा मुद्दा दायर भएका छन्,जसमा ५७ जनालाई विपक्षी बनाइएको छ। बैकिङ कसुरमा ४१ ओटा मुद्दा दायर भएका छन्, भने त्यसमा १६ जनालाई विपक्षी बनाइएको छ।
त्यस्तै, जबरजस्ती करणीमा १९ मुद्दा दायर भएका छन्, त्यसमा १७ जनालाई विपक्षी बनाइएको प्रहरीले जनाएको छ। ठगीमा १६, कर्तव्य ज्यानमा ४,मानव बेचबिखनमा ४, सवारी ज्यानमा ९, बहुविवाहामा ३, चोरीमा २५, विद्युतिय कारोबार ऐनमा ८, सरकारी कीर्तेमा ८ लगायतका विभिन्न अपराधमा प्रहरीले ४ सय ७६ ओटा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको र केही मुद्दामा प्रहरीले अनुसन्धान सकी अदालतमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।
प्रहरीका अनुसार दैनिक २ सयको हाराहारीमा काठमाडौंमा विभिन्न अपराधमा संलग्न रहेका मानिसहरू पक्राउ पर्ने गरेका छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सेतोपाटीसँग भने, ‘अपराध नियन्त्रणमा काठमाडौं प्रहरी जुटेको छ, हामी अपराध गर्नेलाई मात्र हैन, विभिन्न अपराध गरी फरार रहेकालाई पनि पक्राउ गरी कानूनी दायरामा ल्याएका छौं यो अभियान जारी छ,’ उनले भने।
सेतोपाटीसँग कुरा गर्दै एसएसपी पोखरेलले भने, ‘दैनिक करिब २ सयको हाराहारीमा मानिस पक्राउ पर्ने गरेका छन्, उनीहरूलाई राख्ने हिरासत कक्ष पर्याप्त नभएका कारण केही समस्या छ, वृत्तहरूमा राख्ने ठाँउ नभएका कारण परिसर काठमाडौंमा ल्याउने गरेका छौं, उनले भने।
‘राजधानीलाई सुरक्षित सहर बनाउन प्रहरी लागिपरेको छ, त्यसमा सचेत नागरिकले पनि सहयोग गर्नुपर्छ’, एसएपी पोखरेलले भने, ‘सबैको सहयोग भएका कारण अहिले काठमाडौंको शान्ति सुरक्षामा सुधार आएको छ, हामी अझै मजबुत पार्ने छौं।’