उपचारका क्रममा अस्पतालको बेडमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधि रेशम चौधरीको हात खुट्टामा हतकडी लगाएको भन्दै विरोध भएपछि प्रहरीले हतकडी खोलेको छ।
जिल्ला कारागार कैलालीमा अनशनरत चौधरी बिरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याइएको थियो।
वीर अस्पतालको क्याबिनमा उनलाई राखिएको थियो।
अस्पतालको बेडमा रहेका बेला चौधरीको खुट्टामा साङ्लो लगाएपछि विरोध भएको थियो।
चौधरीलाई भेट्न अस्पताल गएका नेताहरूले खुट्टामा साङ्लो लगाएको देखेपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई गुनासो गरेका थिए।
त्यसपछि चौधरीको खुट्टामा लगाएको साङ्लो प्रहरीले हटाएको छ। प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले भने रेशम चौधरीको खुट्टामा साङ्लो लगाएकोबारे आफूलाई जानकारी नभएको बताए।
सेतोपाटीसँग कुरा गर्दै प्रवक्ता नेउपानेले भने, ‘उहाँ अहिले वीर अस्पतालमा उपचार गराइरहनु भएको छ, हातखुट्टा बाँध्ने भन्ने कुरा हुँदैन,यदि त्यस्तो रहेछ भने हामी विचार गर्छौ।’