रियालिटी शोको नाममा ठगी धन्दा चलाउने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केही वर्ष अगाडि ‘डान्स नेपाल डान्स’ रियालिटी शो सञ्चालन गरी विजेतालाई पुरस्कार नगद नदिई ठगी गर्ने सञ्चालक २९ वर्षीय विक्रम अछामीलाई पक्राउ गरेको हो।
केही वर्षदेखि दिने भनिएको पुरस्कार राशी नदिई ठगी गरेको उजुरी परेकोले बुधबार उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
अछामीले भि एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरी ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शो पहिलो सिजन २०६८ जेठ २७ गतेबाट देशभर लिएर थिए।
सो सिजनमा ३ सय जना सहभागी भएका थिए। दोस्रो सिजन भने २०७३ साल साउन २६ गतेबाट सुरू भएको थियो। दोस्रो सिजनमा ४ सय जना सहभागी भएका थिए।
पहिलो सिजनमा प्रथम हुनेलाई ३ लाख रुपैयाँ, दोस्रो सिजनमा प्रथम हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई ५० हजार रुपैयाँ र तेस्रोलाई १८ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो।