सडक निर्माणको काम तत्काल सुरू गर्न माग गर्दै बिहिबार बिहान ६ बजेदेखि स्थानीयबासीले बन्द गराएको तुलसीपुर– घोराही सडक बिहान साढे ११ बजेपछि खुलेको छ।
रोकिँदै आएको सडक निर्माणको काम बिहिबार देखिनै सुरू भएपछि साढे पाँच घन्टापछि स्थानीयले गरेको सडक बन्द खुलेको हो।
पेटीमा काम गर्दै आएका ठेकेदारहरूले आजैदेखि सडक निर्माण सामग्री र मेसिन ल्याएर काम सुरू गरेको तथा कामलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको हुँदा सडक खोलिएको घोराही रोड टोल विकास संस्थाका अध्यक्ष जीवलाल पौडेलले जानकारी दिए।
२०७१ साउनमा गौरी पार्वती निर्माण सेवाका रामकुमार थापाले यो सडकखण्ड निर्माणको जिम्मा पाएका थिए। सम्झौतामा तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्मको ७ सय ७० मिटर सडकखण्ड फोरलेन बनाउने सयमसीमा १८ महिनाको मात्रै छ। तर, हालसम्म पनि सडक निर्माण कार्य पुरा भएको छैन।
निर्माण कार्यमा ढिलाई हुँदा सडक धुलाम्मे भएको भन्दै स्थानीयले त्यसको विरोधमा सडकखण्ड बन्द गराएका हुन्। काठमाडौं निवासी थापालाई सडक निर्माणको टेण्डर परेको भएपनि उनले भने दाङ निवासी पदम शर्मालाई पेटीमा कामको जिम्मा लगाएका थिए। तर, उनले काममा ढिलाई गरेपछि सडक विभागले शर्मालाई काम गर्न रोकेको थियो।
पछिल्लो समय गौरी पार्वती निर्माण सेवाका थापाले फेरि दाङकै ठेकेदारहरु प्रकाश महतरा र वामदेव रेग्मीलाई पेटीमा सडक निर्माणको काम गर्ने जिम्मा दिएको उनीहरूले बताएका छन्। तर, उनीहरूले पनि आफूहरूले ८० लाख बराबरको काम गरिसकेको भएपनि सडक विभागले रकम नदिएको भन्दै काम रोकेपछि स्थानीयहरूले काम छिटो हुनुपर्ने माग गर्दै सडक बन्द गराएका थिए।