धूलो नियन्त्रणको माग गर्दै तुलसीपुर–घोराही सडकखण्डका स्थानीयले बिहिबार बिहानैदेखि अनिश्चितकालीन बन्द गराएका छन्।
तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्मको ७ सय ७० मिटर सडकखण्ड फारलेन निर्माण कार्यमा ढिलाई हुँदा सडक धुलाम्मे भएको भन्दै स्थानीयले त्यसको विरोधमा सडकखण्ड बन्द गराएका हुन्। सम्झौता अनुसार १८ महिनामा पुरा भइसक्नुपर्ने काम चार वर्ष बितिसक्दा समेत पुरा भएको छैन।
निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले विभिन्न वाहाना गरेर सडक निर्माणको काम अलपत्र छोडेपछि सडक खण्डमा ‘अचाक्ली’ धूलोका कारण यात्रा गर्न समेत मुस्किल पर्न थालेको भन्दै स्थानीयले सडकखण्ड बन्द गराएका हुन्। जनप्रतिनिधि र स्थानीय प्रशासन मूकदर्शक भएको हुँदा जनता सडकमा आउन बाध्य भएको घोराही रोड टोल विकास संस्थाका अध्यक्ष जीवलाल पौडेलले सेतोपाटीलाई बताए।
‘धुलो अचाक्ली भयो। हामी जनताले धेरै दुःख पाइम। स्वास्थ्य जोखिममा पर्यो। दुर्घटना बढे। व्यापार चौपट भयो। त्यसैले जनता सडकमा उत्रन बाध्य भए,’ अध्यक्ष पौडेलले भने।
आफूहरूले पटक/पटक निर्माणको जिम्मा पाएका ठेकेदार, स्थानीय सरकार, स्थानीय प्रशासनलाई अनुरोध गरेको भएपनि कसैले पनि उचित चासो नदिएपछि काम छिटो गर्नका दबाब सृजना गर्ने उद्धेश्यले सडकखण्ड अनिश्चितकालीन रूपमा बन्द गराउनु परेको उनले बताए।
अध्यक्ष पौडेलले स्कूले बालबालिका, जेष्ठ नागरिक तथा अशक्त र ह्विल चेयरमा हिड्ने व्यक्ति तथा सर्वसाधारण धूलोबाट अति समस्यामा परेको बताए। त्यस्तै, उनले उपमहानगरपालिकाले सहमति अनुसार प्रत्येक दिन धूलो नियन्त्रण गर्न सडकमा पानी हाल्न समेत छोडेको बताए।
‘मेयरसापले मासिक एक लाख खर्च आयो अब पानी हाल्न सकिदैन भन्नुभयो, तर यस्तो धुलाम्मे सडक क्षेत्रमा बस्न सक्ने अवस्था छैन। त्यसैले हामी बन्द गर्न बाध्य भयौं’, अध्यक्ष पौडेलले भने। यसैबीच बाटो खोल्न आग्रहसहित मेयर घनश्याम पाण्डे बिहानै पुगेको भएपनि बन्दमा उत्रिएका सर्वसाधारणले स्थानीयले भने कामको ग्यारेन्टी नहुँदासम्म सडकखण्ड नखोल्ने अडान लिएपछि मेयर फर्किएका थिए।
‘स्मार्ट सिटी’को गफ मात्रै दिने मेयर पाण्डेको कुराको बोलीको ठेगान नभएको र विश्वास नरहेको भन्दै स्थानीय युवा अरुण लहरेले बच्चालाई ललिपप दिएजस्तै गरी नझुक्याउन मेयरलाई आग्रह गरेका थिए।
‘जनताले यतिदिन सास्ती खेप्दा तपाईं कहाँ हुनुहुन्थ्यो,’– लहरेले मेयरलाई भने, ‘जबसम्म काम सुरू हुँदैन तबसम्म हामी तपाईंको कुरामा विश्वास गर्न सक्दैनौं।’
मेयरसँगै गएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटा समेत बाटो खोल्न आग्रहका लागि पुगेको भएपनि स्थानीयले भने उनीहरूकै अगाडि जेसिबी प्रयोग गरी धमाधम बाटोमा अवरोध राखेका थिए । त्यसपछि मेयर र प्रहरी प्रमुख फर्केका थिए ।
मेयरले त्यँहीबात सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री शर्मालाई फोन गरेर तुरुन्त समस्या समाधन गर्न आग्रह गरेको भएनि आन्दोलनमा उत्रिएका स्थानीयले मेयरको कुरामा विश्वास गरेनन् । यद्यपी मेयरले तत्काल समस्या समाधानगर्न सडक निर्माणको काम गरिरहेका बामदेव रेग्मीलाई पनि तुरुन्त काम थाल्न आग्रह गरेका थिए । ‘जसरी भएपनि आजैदेखि मेसिन पठाएर काम थाल्नु होस ।’ मेयरले भनेका थिए । पछिल्लो समय सडक निर्माणको काम रोकिदै आएको छ ।
धुलाम्मे सडका कारण आफुहरुको दैनिकी निकै कष्टपूर्ण बन्दै गएको हुँदा काम हुने ज्ञारेन्टी नहुँदा सम्म सडक नखोल्ने गोविन्द भण्डारीले बताए । ‘सडकमा धुलोका कारण व्यापार चौपट भईसक्यो, तैपनी मेयरसाप नागरिकको समस्याप्रति जिम्मेवार बन्न सक्नु भएन । त्यसैले बन्द गर्नुपरेको हो,’ भण्डारीले भने। उनले भएको कालोपत्रे पनि भत्काउने तर कामपनि नगर्ने मनोमानी हुँदापनि स्थानीय सरकार रमिते मात्रै बनेको आरोप लगाए।
धूलो,धुँवा, सडकैभरि बालुवा,गिट्टी थुपारीको हुँदा पैदलयात्रु, विद्यार्थी र आम सर्वसाधारणलाई समेत हिडडुल गर्न समस्या भएको हुँदा तत्काल निर्माण कार्य थाल्नका लागि दबाब आवश्यक रहेको भण्डारीले बताए।
पैसा पाए तत्कालै काम सुरू हुन्छ – रेग्मीसडक निर्माणको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवा प्राली काठमाडौंले रकम निकासा भएपछि तत्काल काम थाल्ने जानकारी दिएको छ।
निर्माण कम्पनीका प्रकाश महतराले सडक विभागले रकम निकासा गरे आजैदेखि नै काम सुरू गर्ने बताए। उनले तुलसीपुरमा ६५ प्रतिशत काम भइसकेको र काम गरेको रकम नपाउँदा काम रोक्नुपरेको बताए।
तुलसीपुर चोकदेखि हात्तिखौवा चोकसम्म सात सय ७० मिटर सडक चार वर्ष पुग्दा पनि निर्माण पुरा भएको छैन। २०७१ साउन महिना सम्झौता भएको ठेक्का पटक/पटक थप गर्दै २०७४ कात्तिक ३० सम्म म्याद थप भएको थियो। तर काम अझै पनि जस्ताको त्यस्तै छ।
यो सडकखण्ड निर्माणको जिम्मा गौरी पार्वती निर्माण सेवाले पाएको छ। तर, यसअघि पेटीको रूपमा दाङ घोराहीका पदम शर्माले गर्दै आएका थिए। काम अलपत्र छोडेपछि गत दशैं तिहारपछि फेरि पेटीको रूपमा प्रकाश महतरा र बामदेव शर्माले सडक निर्माणको जिम्मा दिइएको छ। यसैबीच एकजना निर्माण व्यवसायी बामदेव शर्माले दुई महिनादेखि पैसा मागिरहँदा पनि सडक विभागले पैसा नदिएको सेतोपाटीलाई गुनासो गरे।
‘८० लाख भन्दा बढीको काम भइसक्यो, तर सडक डिभिजनले पैसा दिएको छैन। पैसा नपाउँदा हामीलाई समस्या भएको छ,’ रेग्मीले भने। उनले जुनसुकै शीर्षकबाट भएपनि आफूलाई सडक विभागले पैसा दिनुपर्ने बताए। सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका रामकुमार थापाले अलपत्र परेको काम गर्दिनुस् भनेको हुँदा प्रकाश महतरा र आफूले काम गरिरहेको बताएका उनले रकम पाएमा आजैदेखि काम सुरू हुने बताए।
‘केही ढिला भएको होल तर हामीले काम रोकका छैनौं,’ – बामदेव रेग्मी भने, ‘हाम्रो रकम निकास भएमा आगामी वैशाखमै काम सम्पन्न गरेर देखाई दिन्छौं।’
सडक खण्ड बन्द हुँदा सर्वसाधारण यात्रुले भने सास्ती पाएका छन्। कतिपय साना सवारी साधन भने वैकल्पिक मार्ग भएर सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।