विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा पेस्तोलसहित काठमाडौंबाट पक्राउ परेका छन्।
गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो।
होटलमा गोली चलेपछि पुगेको प्रहरी टोलीले हतियारसहित बसेका लामालाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले सेतोपाटीलाई जानकारी दिए। ‘प्रहरीले लामालाई चाइनिज ५४ पेस्तोल र त्यसमा प्रयोग हुने ६ थान गोलीसहित नियन्त्रणमा लिएको हो,’ उनले भने,‘आज गौशाला प्रहरीमा राखिएको छ भोलि काठमाडौं परिसर पठाउँछौ र घटनाको थप अनुसन्धान भइरहेको छ।’
यसअघि प्रक्राउ परेका लामाले आफूलाई कसैले गोली हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रहरीमा बयान दिएका छन्।
यसैबीच काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेल आफैं घटनास्थलमा पुगेका छन्। अहिले गौशाला एरिया सिल गरेर जाँच कडा पारिएको पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
‘हामीले गणेश लामालाई पक्राउ गरेका छौ। म आफैं गौशालामा आएको छु। बाँकी हामी हेर्दैछौ,’ पोखरेलले सेतोपाटीसँग भने।
विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए।
काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।
अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा संविधानसभामा उम्मेद्वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। उनको मुद्दा विशेष अदालतमा अझै जारी छ।