पोखराको बीच भाग हुँदै फेवातालमा पुग्ने फिर्के खोलाको सीमाना छुट्याउन पोखरा लेखनाथ महानगरपालिकाले रेखाङ्कनको काम सुरू गरेको छ।
महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालिएको महानगरले जनाएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोटको फेदी अँधेरीकुनाबाट सुरू भएको बुलौदी खोला करिब ९ किलोमिटरमा फेवातालमा मिसिने गरेको छ।
पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले अतिक्रमण गरि बनाएका संरचना सबै हटाउने बताए। उनले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटम सहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिले डोजर चलाउने बताए। त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई छ।
पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सीमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने मेयर जिसीले बताए।
अँधेरीकुनाबाट, प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फिर्के खोला फेवाताल सम्म पुग्ने गरेको छ। त्यसैगरी, पोखराको बीच भएर बग्ने अर्को बुलौदी खोलाको पनि रेखाङ्कन गर्ने पोखरा लेखनाथ महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले बताए।
फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेका छन्। खोलाको किनारबाट दुबैतर्फ ५/ ५ मिटर मापदण्ड लाग्ने उनले बताए।