सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिका–९ मा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो ४ बजेतिर भएको आगलागीमा परि ४ वर्षीय अनुषा ढोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उनका अनुसार स्थानीय जगत नेपालीको खरले छाएको तीन तले घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषाको जलेर मृत्यु भएको हो। बालबालिकाहरू खेलिरहेको बेला घरमा आगो लागेको एसपी चतुर्वेदीले जानकारी दिए।
आगलागीमा परेर प्रदीप नेपालीको ६ वर्षीय छोरा निराजन नेपाली घाइते भएका छन्। उनलाई थप उपचारका लागि कैलालीको टीकापुर लगिएको छ। प्रहरी र स्थानीयको सहयोगमा बेलुका साढे सात बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।