सिद्धार्थ नगरपालिकामा एकजना व्यवसायीमाथि गोली प्रहार भएको छ। सोमबार राति सिद्धार्थ नगरपालिका–५ बैंकरोडस्थित सैनिक क्याम्प अगाडि उद्योग वाणिज्य संघका सदस्य हरिस सेठियामाथि गोली हानिएको जानकारी रूपन्देहीका एसपी श्याम ज्ञावलीले दिएका छन्।
बैंक रोडमा हिँडिरहेको अवस्थामा मोबाइल तथा विद्युतीय सामाग्री व्यवसायीमा सेठियामाथि भारतीय मोटरसाइकलमा पछाडि बसेका एक युवाले गोली हानेका हुन्।
गोली प्रहारबाट सेठिया जोगिएको ज्ञवालीले बताए। प्रहरीले बैंक रोड क्षेत्रबाटै एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार सेठियामाथि गोली हानिएको स्थान नजिकै एक युवकलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो।
प्रहरीले सुरुवाती अनुसन्धानमा तिनै युवाले गोली हानेको प्रारम्भिक अनुमान गरेको छ। मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ। ज्ञवालीले घटनाको अनुसन्धान भइरहेको बताए।