घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहज रूपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरूवात गरेको छ।
गएको माघ ११ गतेको १९ औँ नगर कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार उपमहानगरले नागरिकको गुनासो व्यवस्थापन र सहजरूपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको हो।
उपमहानगरपालिकाको कार्य क्षेत्रभित्रका कुनै पनि गुनासा, समस्या र सूचनाका लागि पैसा नलाग्ने नम्बर १६६०८२५६५५५ को व्यवस्था गरेको हो।
उक्त टेलिफोन नम्बरमा फोन गरेर कुनै पनि गुनासो राख्न, समस्या भन्न र सूचना प्राप्त गर्न सकिने गरि व्यवस्था मिलाइएको नगर प्रमुख नरुलाल चौधरीले बताए।
सूचना, गुनासा र समस्या सकभर तत्काललै समाधान गरिने र तत्काल सम्भव नभएकाहरूको छिट्टै सम्बोधन गर्ने गरी व्यवस्थापन गरिएको उनले बताए।
सूचना,सञ्चार तथा तथ्यांक व्यवस्थापन महाशाखा, सामान्य प्रशासन महाशाखा र सामाजिक विकास महाशाखामा उक्त फोन सेवा जोडिएको छ। समस्या तथा गुनासाहरू सम्बन्धित महाशाखाहरूबाट समाधान हुने र यदि हुन नसकेको तत्काल नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउन नगर प्रमुख चौधरीले निर्देशन दिएको प्रेस सल्लाहाकार निमु घर्तीले जानकारी दिए।