काठमाडौंको बबरमहलस्थित नागरिक उड्डयन मन्त्रालयको गेटबाट बाहिरिँदै गर्दा दीप ओलीको स्कुटर बिग्रियो।
उनी कोटेश्वरस्थित घर फर्कन लागेका थिए। बिग्रिएको स्कुटर लिएर हिँड्न हम्मे पर्यो। एक पैदलयात्रीको सहारा लिएर माइतीघरको वर्कसप पुगे।
स्कुटर बनाउन दिनुअघि तलपट्टि अड्याइएका वैसाखी झिके। त्यसैको सहारामा उभिए।
दीप अपांगता भएका व्यक्ति हुन्। वैसाखीका भरमा उनको गति दौडन सक्दैन। चार पांग्रे स्कुटर चलाउँछन्।
‘स्कुटरले मेरो गति बढाएको छ। जीवन धेरै सहज भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘पहिले–पहिले सार्वजनिक यातायातमा आउजाउ गर्न ठूलै महाभारत हुन्थ्यो। कहीँ जान परे सय चोटि सोच्नुपर्थ्यो। अहिले सहजै जहाँ पनि पुग्छु।’
दीपले चलाउने यो स्कुटर कस्तो हो?
यो सामान्य स्कुटर हो। भारतबाट आयात हुने ब्रान्डकै। फरक, यसको पछाडि दायाँबायाँ थप एक-एक गरी चार चक्का हुन्छन्। यो खुट्टा सम्बन्धी अपांगता भएका व्यक्तिले चलाउन सक्ने हुन्छ। चार पांग्रे यस्तो स्कुटर दुई पांग्रेको तुलनामा सुरक्षित हुन्छ। धर्मराउने वा लड्ने हुँदैन। खुट्टा टेकेर थाम्नु पर्दैन। यसमा आवश्यक्ता अनुसार ‘मोडिफाइ’ गरेर वैसाखी वा ह्विलचेयर राख्न मिल्ने बनाउन सकिन्छ।
[caption id="attachment_140503" align="alignnone" width="1200"]
तस्बिर : दीप ओलीको फेसबुकबाट।[/caption]
यस्ता स्कुटर भारत गएर किन्नुपर्छ। भन्सार कर छुट हुन्छ।
‘किन्न चाहनेले सुरुमा जिल्लाबाट सिफारिस लिनुपर्छ। त्यसपश्चात अपांग महासंघकाे सिफारिसमा सिडिअाेले भन्सारकाे नाम हेरेर चिठी लेखिदिन्छ। त्यसपश्चात मात्र स्कुटर किन्न सकिन्छ,’ राष्ट्रिय अपांग महासंघ उपाध्यक्ष टीकादेवी दाहालले जानकारी दिइन्।
यहाँको कागजी काम सकिएपछि स्कुटर किन्न भने भारतै जानुपर्ने उनले बताइन्। भन्सारबाहेकको भारतीय बजारमा चलनचल्तीकै मूल्य पर्छ। चार पांग्रे बनाएर ल्याउँदा करिब १ लाख ५० हजार रूपैयाँ खर्च लाग्ने उनले जानकारी दिइन्।
स्कुटर आफैंले किनेर त्यसपछि अरु प्रक्रिया गरौंला भन्ने हो भने समस्या हुने पनि उनी बताउँछिन्। ‘यहाँ यसै स्कुटर किन्दै झन्झट आइलाग्छ। महँगो पनि पर्छ। किनेर चक्का जोडौंला भन्दा थप समस्या हुन्छ। सबै सरकारी प्रक्रिया र काम सुरुमै गर्दा सहजै हुने काम हो,’ उनले भनिन्।
हाम्रा सडक अपांगतामैत्री छैनन्। व्यवस्थित फुटपाथ नभएकाले ह्विलचेयर सडकमै चलाउनुपर्छ। सहजै गुडाउन सक्ने ठाउँ पनि सायदै होला। सार्वजनिक गाडी पनि ह्विलचेयरमैत्री छैनन्। यस्तो अवस्थामा चार पांग्रे स्कुटर धेरै उपयोगी हुने दीप बताउँछन्।
सार्वजनिक गाडी चढ्न खोज्दा नरोक्ने, चढाइहाले पनि मद्दत नगर्ने, वेवास्ता गर्ने लगायत अनुभव उनीसँग छन्।
यही अनुभवको एउटा क्षण उनले सुनाए।
दाङका उनी नेपालगञ्जमा क्याम्पस पढ्दै थिए।
हरेक दिन सार्वजनिक बस चढेर क्याम्पस जान्थे। एकदिन सधैं झैं बस पक्डिए। सिटको कुनामा एक व्यक्ति पहिले नै बसिरहेका थिए। अर्को भाग खाली थियो। उनी बसे।
‘म बस्ने बितिक्कै उहाँले सिट परिवर्तन गर्नुभयो। म अर्कै ग्रहबाट आएको जस्तो गर्नुभयो। अपांगता भएका मान्छेसँग बस्न पनि डराए जस्तो देखिनुभयो,’ उनले भने।
यति बताइसकेपछि उनी एकछिन रोकिए र फेरि भने, ‘सायद मलाई बस्न सजिलो होस् भनेर पनि हुन सक्छ।’
उनले ६ वर्षअगाडि स्कुटर किनेका हुन्। नागरिक उड्डयन मन्त्रालयमा काम गर्ने उनी दिनहुँ गाडी चढ्नुपर्ने झन्झटले दिक्क लागेर स्कुटर किनेको बताउँछन्।
‘स्कुटर मेरो सारथी हो। खासमा मेरा खुट्टा नै हो। यसले मलाई दुवै खुट्टा भएको अनुभव दिएको छ,’ उनले भने, ‘सार्वजनिक गाडी चढेर नजिकै कतै पुग्न समेत सकस हुन्थ्यो। गाडीमा हुने व्यवहारले निरास बनाउँथ्यो। अचेल केही भोग्नुपर्दैन।’
अहिले त उनी टाढा–टाढा पनि यही स्कुटरमा दौडने बताउँछन्। त्यो पनि एक्लै। काठमाडौं आसपासका धुलिखेल, मनकामना, सेतो गुम्बा लगायत ठाउँ एक्लै पुगेको सुनाउँदै उनले भने, ‘म स्कुटरबाटै दाङ पनि पुगेँ। वास्तवमा स्कुटरले मलाई आफू खुसी हिँड्ने र आत्मविश्वासका साथ बाँच्ने स्वतन्त्रता दिएको छ।’
दीपको जीवन सहज बनाएको चार पांग्रे स्कुटर चलाउन कत्तिको सहज छ भन्नेबारे हामीले थप जान्न चाह्यौं।
सामाजिक अभियन्ता सागर प्रसाईंले आफ्ना अनुभव सुनाए।
‘यस्ता स्कुटर हाम्रा निम्ति वरदान नै हुन्। वैसाखी टेकेर हिँड्नेलाई त यो धेरै सहज छ। ह्विलचेयरमा हिँड्नेलाई चाहिँ अलि कठिन हुन्छ,’ उनले भने, ‘ह्विलचेयरबाट स्कुटर चढ्न र ओर्लन समस्या हुन्छ। स्कुटरको उचाइका कारण पनि तुलनात्मक रुपले गाह्रो छ।’
नेपालमा चार पांग्रे स्कुटर देखिन थालेको करिब २ दशक भयो। लामो समय भए पनि धेरैको पहुँचमा पुग्न नसकेको महासंघ उपाध्यक्ष दाहाल बताउँछिन्।
[caption id="attachment_140504" align="alignnone" width="885"]
तस्बिर : सागर प्रसाईंको फेसबुकबाट[/caption]
उनका अनुसार यसका प्रमुख तीन कारण छन्।
पहिलो, यस्तो स्कुटर कहाँ पाइन्छ, कसरी किन्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन।
दोस्रो, स्कुटर किन्न सबैको आर्थिक क्षमता हुँदैन।
तेस्रो, थाहा हुने र किन्न सक्नेले पनि चलाउन सक्ने हो कि होइन भन्ने डरले किन्न हिच्किचाउँछन्।
सागर तेस्रो कारणका भुक्तमान हुन्।
‘धेरैले चलाएको देख्थेँ। मलाई भने डर थियो। चलाउन सक्ने हो कि होइन भनेरै धेरै समय किन्न आलटाल गरेँ,’ उनले भने, ‘साथीहरूले धेरै सुझाए। उनीहरूले ढुक्कसँग चलाएको देख्दै गएपछि भने विस्तारै ऊर्जा आयो।’
यो ऊर्जाले चार वर्षअघि सार्थकता पाएको उनी बताउँछन्।
त्यसअघि उनी प्रायः ट्याक्सीमै आवतजावत गर्थे। ‘स्कुटरका कारण पैसा बचत भएको छ नै। आत्मनिर्भर पनि भएको छु,’ उनले भने।
दीपले भने अपांगता भएका व्यक्तिका निम्ति ल्याइने स्कुटरमा भन्सार छुट हुने सुनेका थिए। तर कहाँ, कसरी किन्ने थाहा पाउनै एक वर्ष बितेको उनले बताए।
‘ह्विलचेयर स्कुटर’ पनि भनिने यसका धेरै राम्रा पक्ष छन्। केही समस्या पनि छन्।
स्कुटर चालकहरूका अनुसार यो जहाँ पनि सजिलै जाँदैन। धेरै उफ्रिन्छ र नराम्रो बाटोमा ‘लेभल’ मिल्दैन। काठमाडौंका सडकमा चलाउन सकसै हुन्छ।
चार चक्का भएकाले फराकिलो हुन्छ। सडकमा धेरै ठाउँ ओगट्छ।
अरू स्कुटरको तुलनामा यसको गति ढिलो छ। बारम्बार बिग्रिने समस्या छँदैछ।
[caption id="attachment_140505" align="alignnone" width="899"]
तस्बिर : सागर प्रसाईंको फेसबुकबाट।[/caption]
‘स्कुटरमा चारवटा इन्जिन हुन्छ। त्यसैले, के के बिग्रिरहन्छ। बनाउन झन्झटिलो,’ दीपले भर्खरै बनाउन दिएको स्कुटर देखाउँदै भने।
सागर पनि यसमा सहमत छन्। अपांगता भएका व्यक्तिको निम्ति यहीँको बाटो सुहाउँदो डिजाइनमा स्कुटर भए धेरै उपयोगी हुने उनी बताउँछन्।
‘भारतबाट ल्याउने स्कुटर अपांगता भएका व्यक्तिलाई नै भनेर इञ्जिनियरिङ गरिएको छैन। खाली पांग्रा थपिएको छ। हाम्रा निम्ति कस्तो स्कुटर उपयोगी र किफायती हुन्छ भन्ने नेपाल सरकारकै पहलमा काम भइदिए हुन्थ्यो। यसैले त हामीलाई हिँडाएको छ, हाम्रै निम्ति भनेर छुट्टै स्कुटर बनाइदिए हाम्रो जीवन अझै दौडने थियो,’ दीप र सागरले एउटै भनाइ राखे।