दाङका एकजना युवाको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ।
हालको दंगिशरण गाउँपालिका तथा साविक हेकुली गाविस वडा नम्बर ८ पोटली निवासी २१ वर्षीय प्रकाश बोहराको सवारी दुर्घटनामा मृत्यु भएको उनका साथी लोकेन्द्र शेरपाईलीले जानकारी दिएका छन्।
गुहाको एक होटलमा कार्यरत किचेन हेल्पर बोहरा काममा जाँदै गर्दा शनिबार बिहान दश बजेतिर मिरामार पञ्जिम गुहामा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए।
घाइते बोहोराको आइतबार बिहान गुहास्थित जेएमसी मेडिकल कलेजमा मृत्यु भएको दाङको बबई गाउँपालिका वडा नम्बर ५ निवासी शेरपाईलीले फोनमा जानकारी दिए।
बोहोरा विगत चारवर्षदेखि रोजगारको सिलसिलामा भारतको गुहामा परिवारका साथ बस्दै आएका थिए। बोहोराकी श्रीमती खिमा बोहरा र भाइ पनि भारतमै रहेको हुँदा मृतकको भारतमै अतेष्टि गर्ने तयारी भइरहेको शेरपाईलीले फोनमा जानकारी दिए।
दाङस्थित उनीहरूका अभिभावक तथा आफन्तहरूले भारतमै अतेष्टि गर्न सल्लाह दिए बमोजिम उतै अतेन्ष्टि गर्न लागिएको जानकारी दिइएको छ।