बोक्सीको आरोपमा १७ वर्षे किशोरीमाथि भएको कुटपीट घटनाको जाहेरी लिन नमान्ने ईलाका प्रहरी कार्यालय सुख्खडका सई निलम्बनमा परेका छन्।
बिहिबार कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी १७ वर्षीय राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुख्खडमा पीडित युवतीका आफन्तले प्रहरीमा उजुरी दिन जाँदा प्रहरी कार्यालयले उजुरी लिन मानेको थिएन। इलाका प्रमुख सई दिनेश विष्टले उजुरी दर्ताको साटो मिलापत्र गराएर पठाएको रहस्य खुलेपछि प्रहरी प्रधान कार्यालयले उनलाई आईतबार निलम्बन गरेको नेपाल प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले सेतोपाटीलाई जानकारी दिए।
‘घटनाका मुख्य अभियुक्त झाँकी रामबहादुर चौधरी र उनकी प्रेमिका किस्मती चौधरी पक्राउ परेका छन्। उनीहरूबारे थप अनुसन्धान हुँदैछ,’ नेउपानेले भने।
मिलापत्र गराएर बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो।
सबैतिर बिरोध हुन थालेपछि प्रहरीले रामबहादुरलाई फेरि पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ, भने उनकी प्रेमिका किस्मतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
घटनाका मुख्य दोषी रामबहादुरलाई छुटाउन घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद प्रसाद चौधरीनै प्रहरी कार्यालय गएका थिए।
कुटपिटमा अन्य केही ब्यक्ति पनि सामेल भएको भन्दै उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।