तुलसीपुरस्थित सितलपुर चोकको नाम आइतबारदेखि परिवर्तन भएको छ।
आजदेखि सितलपुर चोकको नाम परिवर्तन गरी मदन आश्रित चोक नामाकरण गरिएको छ।
हालसम्म यो चोकको नाम यहाँको एक चर्चित धार्मिकस्थल सितलुपर चोक थियो। सितलपुर चोकबाट चिनिँदै आएको चोक आजदेखि भने झन्डै २५ वर्षअघि दासढुङ्गा दुर्घटनामा ज्यान गुमाउएका नेकपा एमालेका नेताद्धय मदन आश्रितको नामबाट नामांकरण गरिएको छ।
सितलपुर चोकमा ट्राफिक विट स्थापना गर्ने बाहानामा एमालेका स्वर्गिय नेताहरूको नामबाट चोकको नामांकरण गरिएपछि सर्वसाधारणले भने त्यसलाई जनप्रतिनिधिले मनोमानी गरेको बताएका छन्।
‘आफूखुसी नाम परिवर्तन गर्ने अधिकार कसैलाई छैन,’–नयाँ नामांकरण गरिएको चोकमा भेटिएका रमेश मल्लले भने, ‘यो स्वीकार्य हुनै सक्दैन।’
मल्लले जनप्रतिनिधिले मनोमानी गर्न नपाउने बताए। पुरानो सितलपुर चोकमा यो ट्राफिक विट वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेले स्थापना गर्न लगाएका हुन्। लामिछाने नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्।
वडा कार्यालयको एक लाख बजेटमा विट स्थापना गरिएको उनले जानकारी दिए। त्यस्तै, उक्त ट्राफिक विटको वरिपरि कालोपत्रे गर्नका लागि तुलसीपुर उपमहानगरपालिकामा थप २० हजार रुपैयाँ प्रस्ताव गरिएको उनले जानकारी दिए। वडा अध्यक्ष लामिछानेले कार्यपालिका बैठकले यसअघि नै चोकको नाम परिर्वतन गर्ने निर्णय गरेको हुँदा चोकको नाम मदन आश्रित राखिएको बताए।