नेपालगञ्जका घराना व्यापारीलाई धम्काउँदै फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रकम फिरौती माग गर्ने सुर्खेत लेखगाँउ १ का विजय विक्रम शाह, बाँके कोहलपुरका रमेशप्रसाद अधिकारी, नेपालगञ्जका केशराज भण्डारी, अस्फाक सिद्धिकी, भरतपुरका विष्णु तिमल्सेना र कुशल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदेश नम्बर ५ को विशेष ब्यूराले उनीहरूलाई नेपालगञ्जको विभिन्न स्थानबाट गएको फागुन २३ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका विजय विक्रम गिरोहका नाइके हुन्। उनीहरूले नेपालगञ्ज तथा कोहलपुरका विभिन्न व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्दै आएका थिए।
नेपाल भारतको सीमानामा बसेर उनीहरूले फिरौती रकम माग गर्ने गरेको गुनासो बढेपछि प्रहरीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको नेपालगञ्ज प्रहरीले जनाएको छ।
उनीहरूले व्यापारी हेरेर १० लाखदेखि एक करोडसम्म रकम माग गरेको ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मदुप्रसाद पुडासैनीले बताए।
‘भारतीय सीमा क्षेत्रमा बसेर ज्यान मार्ने धम्की दिँदै व्यापारीसँग रकम माग गर्ने गिरोहको बारेमा हामीलाई उजुरी थियो, हामीले गोप्य रूपमा उनीहरूको निगरानी गरिरहेका थियौं’, एआईजी पुडासैनीले सेतोपाटीसँग भने, ‘उनीहरूको पक्राउपछि व्यापारीको उजुरी बढ्दै गएको छ,हामी अनुसन्धान गर्दैछौं’, उनले भने।