* हाम्रो असावधानीका कारण यसअघि यो समाचार शीर्षकमा प्रयोग भएको शब्दप्रति क्षमा चाहन्छौं। - सम्पादकएक खुट्टाले नाच्ने रोमा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले बिहिबार न्यौपानेलाई पक्राउ गरेको हो।
उनीविरूद्ध ३६ लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए।
ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।
लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए । रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन् । तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गरेको थियो भने रोमा फरार थिइन्।
२०७२ सालमा नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड पाएकी रोमा नृत्य र अभिनयका क्षेत्रमा ख्याती कमाएकी कलाकार हुन्।
८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन् । टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश(विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन्।