लागूऔषध कारोबारीले ग्रिजको डब्बा भित्र हालेर लागूऔषध को अवैध तस्करी गर्ने गरेको सहस्य खुलेको छ।
मंगलबार प्रहरी बृत्त जनसेवाको टोलीले नुवाकोट तलाखु गाउँपालिका–९ का २५ वर्षीय सुनिल घिमिरे, बारा गढीमाई नगरपालिका–१० का बिगु रायभर र भारत दरभंगाका २६ वर्षीय मोहम्मद रिया जुदिनलाई पक्राउ गरेपछि उनीहरूबाट बरामद लागूऔषध पछि यस्तो तथ्य खुलेको हो।
उनीहरूले प्रहरी र भन्सारको आँखा छल्न ग्रिजको डब्बा भित्र लागूऔषध हालेर काठमाडौं ल्याउने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका घिमिरे काठमाडौंमा लागूऔषध भित्र्याउने डिलरका रुपमा काम गर्ने गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
घिमिरे काठमाडौंमा आउने लागूऔषधको पहिलो डिलर रहेको र उनीसँग लिएर अन्यले दुर्वेशनीसम्म पुर्याउने गरेको एसएसपी पोखरेलले जानकारी दिए।
उनका अनुसार बरामद करिब ५४ सय थान लागूऔषध भारतबाट ग्रिजको डब्बा भित्र हालेर ल्याइएको थियो।
घिमिरे बाहेक अन्य २ जना भरिया हुन्। उनीहरु २ जनाले रक्सोल हुँदै उक्त लागूऔषध काठमाडौं त्याएका थिए।
भारतीय बजारबाटै ग्रिजका डम्बामा प्याक गरी नेपाल पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।
मंगलबार बरामद गरिएका ३ वटा ग्रिज डब्बा पनि बाहिर हेर्दा ग्रिजनै भएको देखिन्छ, तर भित्र खोलेर हेर्दा डाइजेपाम, नोर्फिन र फेनारगनले भरिएका थिए।
उक्त लागूऔषधलाई ग्रिजनै भएको भन्दै उनीहहरूले भन्सारमा समेत झुक्याएर काठमाडौं ल्याइपुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका घिमिरेलाई सोधपुछ गर्दै जाँदा ग्रिजको बट्टामार्फत लागूऔषध राजधानी भित्र्याएको स्वीकारेका एसएसपी पोखरेलले बताए।
प्रहरीका अनुसार घिमिरे पहिला राजधानीको डल्लु क्षेत्रमा खुद्रा लागूऔषधका कारोबारी थिए, पछि उनले भारतबाट ल्याउने समूहमा छिरे र उनी सो क्षेत्रको डिलरकै रूपमा स्थापीत भए।
खरिद १०० बिक्रि २ हजारसम्म दुर्वेशनीहरूले डाइजेपाम, नोर्फिन र फेनारगन मिसाएर लागूऔषधको सेवन गर्ने गर्छन्। प्रहरीका अनुसार उक्त सेटको खरिद मुल्य १०० पर्छ भने, प्रयोगकर्तासम्म पुग्दा त्यसको मुल्य २ हजार रूपैयाँसम्म पुग्छ। बेला बेला त्यो भन्दा पनि बढी हुने गरेको प्रहरीको दाबी छ।
भारतीय बजारबाट कम आएर सटेज भएमा १ हजार पर्नेलाई २ हजार भन्दा बढी लिएर बिक्री गर्नेसमेत गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टिकु लिम्बुले दाबी गरे।