पाँचथर जिल्ला फिदिम नगरपालिका–३ का एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
श्रीमतीको हत्या गरी प्रहरीमा उनी हराएको उजुरी दिएर उम्कने प्रयास गरिरहेको अवस्थामा पाँचथर प्रहरीले १५ दिनपछि घटनाको यथार्थ पत्ता लगाएको छ। मृतकको शवको कंकाल १५ दिनपछि उत्खनन गरि पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ।
प्रहरीका अनुसार फिदिम नगरपालिका ३ सिलौटीका ६१ वर्षीय डिकबहादुर मुखियाले आफ्नै श्रीमती ४२ वर्षीया गंगामाया सुनुवार मुखियाको हत्या गरेका थिए। गत फागुन ५ गते मध्यराती घरमा कोही व्यक्ति नभएको मौका छोपी उनले श्रीमतीलाई उत्तिसको दाउरा र मुक्का प्रहार गरेर हत्या गरेका थिए। यसपछि उनले शव घर अघिको बारीमा खाल्डो खनेर पुरेपछि त्यसमाथि आलु र तोरी रोपेका थिए।
मुखियाले प्रहरीलाई दिएको बयान अनुसार फागुन ५ गते गाउँमा एउटा विवाह थियो। डिकबहादुर दिनभर त्यही विवाहमा सरिक भएर रक्सीमा रमे। रक्सीले झम्म भएपछि साँझ उनी घर पर्के। उनी घर आउँदा उनकी श्रीमती गंगामाया सुनुवार खाना पकाइरहेकी थिइन्। डिकबहादुरभन्दा २१ वर्ष कम उमेरकी गंगा मायालाई आफ्नो श्रीमान रक्सीले मातेर आएपछि केही भनाभन भयो उनले किन ढिला आउनु भयो भनिन्, डिकबहादुरलाई गाली गर्न थालिन्। बेजोडले मातेका डिकबहादुरले श्रीमतीको गाली सहन सकेनन्। रिसको झोकमा डिकबहादुरले दाउराले टाउकोमा हाने, गंगामाया खुत्रुक्क्रै भइन्।
श्रीमती ठहरै भएपछि डिकबहादुरलाई के गरौं?, कसो गरौं?, मलाई मार्छन् भन्ने भयो। अनि उनले त्यही राति घर नजिकैको ३० मिटर पर आलुबारीमा ३ फिट गहिरो खाल्डो खनेँ र त्यहीँ खाल्डोमा गाडे। तैपनि उनको मन शान्त भएन। छिमेकीले ‘तपाईको श्रीमती खोई भनिहाले भने के भन्ने ?’ झन् फसाद पर्यो। उनले त्यसबाट बच्न एउटा जुक्ति निकाले, ‘मेरो श्रीमती हराइन् खोजी दिनु पर्यो’ भनेर निवेदन समेत दिए।
तर उनको जुक्ति धेरै दिन टिकेन। प्रहरीले घटना केरकार गर्दै जाँदा गंगामायालाई डिकबहादुरले मारेको ठहर भयो र प्रहरीले उनलाई पक्राउ गर्यो। प्रहरीले पक्राउ गरेपछि बल्ल उनले साँचो कुरा बताए। अहिले उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख बामदेव गौतमले जानकारी दिए।
श्रीमती हराएको भनेर उजुरी गरेपछि प्रहरीले व्यापक खोजी गर्यो। आफ्न्तलगायत विभिन्न स्थानका खोजी गरियो कतै भेटिएन गंगामायालाई। मुखियाले शंकास्पद गतिविधि देखाए। विगतभन्दा बढी रक्सी खाएर हो हल्ला गर्ने र रुने गरेका थिए मुखिया। प्रहरीले मुखियाको गतिविधिमाथि अनुसन्धान गरिरहेको थियो।
गाँउलले पनि उनैमाथि शंका गरे। घरैमा बस्दै आएका सुनुवारको गतिविधिमा शंकास्पद रहेको पाइएपछि प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको थियो। नियन्त्रमापछि हिरासातमा राखेर उनको बयान लियो उनले श्रीमतीको हत्या गरेको स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काको कमाण्डमा गएको टोलीले खोजबिन गर्ने क्रममा गंगामायालाई गाडेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ।
घरमा छोराछोरी नभएको मौका छोपी मुखियाले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरेर आलुबारीमा पुरेको प्रहरीले जनाएको छ।
फागुन ५ गते राति हत्या भएकी श्रीमतीको शव प्रहरीले १५ दिनपछि मात्र उत्खनन् गर्न सफल भएको थियो।