गर्मी मौसम सुरू भएसँगै दाङमा आगलागीका घटनामा वृद्धि भएको छ।
दुई दिनको अवधिमा घोराही उपमहानगरपालिकाभित्र मात्रै चारवटा घरमा आगलागी भएको छ।
सोमबार बेलुका घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित लिला दमाईको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। बेलुका ८ बजेतिर विद्युत सर्ट भएर दमाईको घरमा आगो लागेको थियो।
बिजुलीको तार सर्ट भई फुसको छानोयुक्त दुई तले दमाईको घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। आगलागीबाट लत्ता कपडा, अन्तपात, धनमाल र केही नगद, गरगहना समेत गरी ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।
अग्नि पीडितलाई राहात प्रदानयसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाम्लाको धनडाँडामा आइतबार राति आगोलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन्।
स्थानीय शेरबहादुर रावतको घरमा तरकारी पकाउने क्रममा आगलागी भएको र त्यो आगो स्थानीय अन्य दुई वटा घरमा समेत सल्केको थियो। रावतका दुईवटा र छिमेकी वीरबहादुर विकको एउटा गरी तीन वटा घर पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट रावतको करिब ९ लाख र विकको करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ। अग्नि पीडित परिवार हाल छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। तीन वटै घर फुसको छानायुक्त भएको हुँदा समयमै आगो नियन्त्रण नसकिएको हुँदा घरभित्र रहेको अन्तपात, गरगहना, केही नगत सबै जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, पीडित परिवारलाई घोराही उपमहानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ। उपमहानगरले चामल, दाल, नुन, तेल, चिउरा, बिस्कुट लगायतका खाद्यान्न अग्नि पीडित परिवारलाई सहयोग गरिएको थियो।
उपमहानगरका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं १४ नम्बरका अध्यक्ष शक्तिराम डाँगी, वडा नम्बर १९ का सदस्य जंग रोका र उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले पीडित परिवारलाई उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए।
उपमहानगरले पीडित परिवारलाई भाडाकुँडा र लत्ताकपडा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अग्नि पीडित परिवारलाई माओवादी केन्द्रका नेता निर्मल महरा र बस व्यवसायी नारायण वलीले पनि चामल सहयोग उपलब्ध गराएका थिए।